
इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सविरुद्ध सहज जीत हात पारेको छ । पञ्जाबले चेन्नईलाई ७ विकेटले हराएको हो ।
चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए । यस्तै राइली रुसोले २३ बलमा ४३ रन जोडे ।
चेन्नाईका शार्दुल ठाकुर, रिचार्ड ग्लिसन र शिभम दुबेले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन जोडको थियो । चेन्नईका लागि कप्तान रुतुराज गाईक्वाडले ४८ बलमा सर्वाधिक ६२ रन बनाए । अर्का ओपनर अजिंक्या राहानेले २९ रन बनाए भने समिर रिज्विले २१ रन जोडे । मोइन अलिले १४ तथा महेन्द्र सिंह धोनीले १४ रन बनाए ।
पञ्जाबका लागि हरप्रीत ब्रार र राहुल चहरले २-२ विकेट लिए भने कागिसो रबाडा र अर्शदिप सिंहले १-१ विकेट लिए ।