२६ जेठ २०८३, मंगलबार
सत्तामा रोल्पाली

रोल्पामा जुरेको गजबको संयोगः प्रत्यक्ष निर्वाचित तीनै सांसद एकैपटक 'पावरफुल' मन्त्री

बैशाख २०, २०८१
बुटवल
रोल्पामा जुरेको गजबको संयोगः प्रत्यक्ष निर्वाचित तीनै सांसद एकैपटक 'पावरफुल' मन्त्री

लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाका तीनैजना प्रत्यक्ष निर्वाचित सांसद मन्त्री तथा मुख्यमन्त्री बन्ने गज्जबको संयोग जुरेको छ ।

प्रतिनिधिसभातर्फ एउटै मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट जितेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अर्थमन्त्री छन् ।

प्रदेशसभातर्फ रोल्पा १ (१) बाट निर्वाचित जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री र रोल्पा १ (२) बाट निर्वाचित दीपेन्द्रकुमार पुन मगर लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बनेका छन् । तीनैजना माओवादी सांसद हुन् ।

दीपेन्द्र माओवादीबाट प्रदेशसभामा टिकट नपाएपछि स्वतन्त्र उठेर निर्वाचित भएपछि माओवादीमै फर्किएका थिए । मन्त्री बनाउने शर्तमा उनलाई पार्टीमा फर्काइएको थियो ।

एउटै जिल्लाबाट संघीय सरकारमा एक र प्रदेश सरकारमा मुख्यमन्त्रीसहित २ मन्त्री बनेपछि जिल्लाको विकास हुने र आफूहरूको जीवनस्तर उकासिने आस रोल्पालीले गरेका छन् । माओवादी रोल्पाका अध्यक्ष रेशम पुनले बिरलै जुर्ने यस्तो संयोग यो पटक रोल्पामा जुरेकाले जनअपेक्ष धेरै रहेको बताए ।

‘जिल्लामा गर्नुपर्ने धेरै काम छन्,’ रेशमले लोकान्तरसँग भने, ‘पहिलो कुरा शहीदको सपना पूरा गर्नुपर्ने छ । दोस्रो, यहाँका जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउन आवश्यक छ । त्यस्तै, जिल्लामा पर्ने गौरवको आयोजना शहीद मार्ग लामो समयदेखि अपूरो छ । सिमिचौर–थवाङ सडक कालोपत्रे गर्नुपर्नेछ । सुलिचौर गाम हुँदै बाग्लुङ जोड्ने सडक अब सबै नेता पावरफूल तहमा पुगेपछि बन्ने आस रोल्पालीले गरेका छन् ।’ 

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति तथा रोल्पाका नेता अम्मरसिंह पुनले जिल्लाको विकास गर्नका लागि तीनै मन्त्रीलाई शुभकामना दिए ।

‘यसअघि पनि रोल्पाले मुख्यमन्त्री र अर्थमन्त्री पाएको हो,’ पुनले भने, ‘विकासको हिसाबले लुम्बिनी प्रदेशमै रोल्पा पछाडि छ । खासै काम भएका छैनन् । अहिले सबै निर्वाचित सांसद मन्त्री बन्नुभएको छ । अब रोल्पाको समृद्धिका लागि काम गर्नुपर्छ । मदन भण्डारी लोकमार्गको काम पूरा गर्नु आवश्यक छ । शिक्षा र स्वास्थ्यमा काम गर्नु छ । कृषियोग्य जमिन उपयोग गर्दै बसाइँसराइ रोक्ने योजना ल्याए जिल्लामा राम्रो हुने थियो ।’ 

वि.सं.२०६४ सालमा रोल्पाबाट निर्वाचित भएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री समेत भएका थिए । २०६४ मै रोल्पाबाट निर्वाचित महिला नेत्री जयपुरी घर्ती पनि मन्त्री बनेकी थिइन् ।

रोल्पाकै कृष्णबहादुर महरा पटक–पटक मन्त्री हुँदै सभामुखसम्म बने । रोल्पाकी ओनसरी घर्ती उपसभामुख हुँदै सभामुख बनिन् । रोल्पाकै अर्का माओवादी नेता नन्दबहादुर पुन दुईपटक उपराष्ट्रपति बने । 

यसअघि वि.सं. २०७८ मा पनि रोल्पाले मुख्यमन्त्री पाएको थियो । माओवादी केन्द्रका कुलप्रसाद केसी लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका थिए । 

नेकपा एमाले रोल्पाका अध्यक्ष अमृत बुढाले विगतमा पनि रोल्पाले अर्थमन्त्री, मुख्यमन्त्रीदेखि प्रधानमन्त्री र सभामुखसम्म पाएको बताउँदै काम हुन्छ भन्ने जनविश्वास गुम्दै गएको बताए ।

‘विगतमा पनि अपेक्षा धेरै गरिएको थियो,’ बुढाले लोकान्तरसँग भने, ‘अस्पताल र सडकको स्तरोन्नति पहिलो आवश्यकता हो । अब तीनैजना मन्त्रीले यसतर्फ ध्यान दिएर काम गरे राम्रो होला । होइन भने, जनताले अब विश्वास गर्ने छैनन् ।’ 

रोल्पा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धको उद्गम थलो पनि हो । २०५२ देखि २०६३ सम्म रोल्पाका गाउँमा सरकारी उपस्थिति शून्यप्रायः थियो ।

रोल्पा वि.सं. २०१८ मा प्यूठान, सल्यान र रुकुमबाट चोइटिएर बनेको जिल्ला हो । जनयुद्धको बेला सबैभन्दा बढी क्षति रोल्पाले व्यहोरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्