२८ जेठ २०८३, बिहीबार
सत्ताका लागि अनेक दाउ

भित्रभित्रै सत्ताको तीनथरि खिचडी, माधव नेपालको अतिरिक्त सक्रियता

बैशाख २१, २०८१
काठमाडौं
भित्रभित्रै सत्ताको तीनथरि खिचडी, माधव नेपालको अतिरिक्त सक्रियता

इलामको उपनिर्वाचनपछि सत्ता समीकरण परिवर्तनका लागि भइरहेको प्रयासले तीव्रता पाएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बन्न सक्ने विषय बाहिर आएपछि त्यसको ‘काउन्टर’मा पुरानै गठबन्धन ब्युँताउनेदेखि एमाले–माओवादीबेगरको वैकल्पिक गठबन्धन बनाउनेसम्मका विकल्पमा भइरहेको कसरतले समेत तीव्रता पाएको हो ।

कांग्रेस–एमाले मिल्दा ‘कर्नर’मा पर्न सक्ने भयका बीच नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुरानै गठबन्धन ब्युँताउन अधिकतम प्रयास गरिरहेका छन् । 

यसबीचमा केही दिनअघि अध्यक्ष नेपालले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा सभापति शेरबहादुर देउवा र उपसभापति खड्कासँग छलफल गरेको विश्वस्त स्रोतले लोकान्तरसँग बतायो ।

‘पुरानै गठबन्धन ब्युँताउनका लागि प्रचण्डलाई समेत मनाउने विश्वास नेता नेपालले दिलाउनुभएको थियो । प्रचण्डकै सहमतिमा उहाँले पहलकदमी लिनुभएको जस्तो देखिन्थ्यो,’ उक्त स्रोतले लोकान्तरसँग भन्यो, ‘उहाँ (माधव नेपाल)को कुरा सुने पनि देउवाले हुन्छ वा हुन्न केही भन्नुभएको छैन ।’ 

अर्कातिर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि नियमित संवादमा छन् । 

कांग्रेस–एमाले मिलेर सरकार बनाउने विषयमा खासै समस्या नभए पनि पहिला कसले नेतृत्व गर्ने भन्ने विषय टुंगिएको छैन । प्रधानमन्त्री को बन्ने भन्ने कुरा त्यति जटिल नभए पनि शक्ति राष्ट्रको भूमिका के हुन्छ भन्नेमा ओलीको चासो रहेको स्रोतको दाबी छ ।

अर्कातर्फ कांग्रेस–एमाले संवादको विषय बाहिर आएपछि प्रचण्ड समेत निकै शतर्क देखिन्छन् । सोही कारण उनले पनि विभिन्न विकल्पमा प्रयास अगाडि बढाएका छन् ।

null

माधव नेपालको सक्रियताको अन्तर्य

पुरानो गठबन्धन तोडेर नयाँ समीकरण बनाउँदा शुरूमा आफूलाई बेवास्ता गरिएको बुझाइमा रहेका माधव नेपालले सार्वजनिक रूपमै निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् ।

सरकारमा दुई मन्त्री पठाइसकेपछि पनि नेपालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने अडान लिएका थिए । पछि एमाले, माओवादी, रास्वपा र जसपाले उनलाई समेत समेटेर ७ बुँदे सहमति गरेका थिए । पेचिलो गणितलाई देखाउँदै नेपालले घुर्क्याएरै सुदूरपश्चिमको मुख्यमन्त्री हत्याए । तर, सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिन बाँकी नै छ ।

‘सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने बेलासम्ममा केन्द्रका भइरहेका प्रयासले एउटा आकार लिन सक्ने सम्भावना पनि देखिन्छ,’ स्रोतले भन्यो, ‘माधव नेपालको सक्रियतालाई यसैसँग जोडेर हेर्नुपर्छ ।’

नेपालको जोड सकेसम्म कांग्रेस–एमाले मिल्न नदिने भन्ने नै छ । प्रचण्डलाई तान्न नसके राप्रपा र जसपालाई समेटेर वैकल्पिक गठबन्धन बनाउने प्रयासमा समेत नेपाल देखिन्छन् ।

यसबीचमा नेपालले उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि गोप्य छलफल गरेका थिए । यादव अमेरिका जानुअघि नेपालले २ घण्टा छलफल गरेको स्रोतले बतायो ।

null

प्रतिनिधिसभामा कांग्रेसका ८८, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्ति र लोसपाका ४/४ गर्दा गरी १३८ सांसद छन् । यो बहुमतका लागि आवश्यक संख्या हो । यसमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी समेत जोडिँदा १३९ पुग्छ ।

अध्यक्ष नेपालले कांग्रेस सभापति देउवालाई समेत भेट्दै आएका छन् । तर, यसरी जोडजाड गरेर गठबन्धन बनाई प्रधानमन्त्री बन्ने कुरालाई देउवाले प्राथमिकतामा राखेको देखिँदैन । अब साना दलहरू जोडजाममा लाग्नुभन्दा एमालेसँग मिलेर सरकार बनाउनुपर्नेमा कांग्रेसका अधिकांश नेताको जोड छ ।

‘३२ सिटको दललाई प्रधानमन्त्री दिँदा १ वर्षमा ३ पटक विश्वासको मत लिनुपर्ने अवस्था आयो । यही बेला कांग्रेसले नै २१ सिटको दललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको विषय बाहिरिएका छन्,’ कांग्रेसका एक नेताले भने, ‘राजनीतिक स्थायित्व भएन भनेर फेरि १० सिटको दललाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आए झन् के होला ? सोही कारण मुस्किलको बहुमततर्फ लाग्नुहुँदैन भन्नेमा अधिकांशको जोड छ ।’

यता माधव नेपालले केही दिनअघि आफू प्रधानमन्त्री बन्छ भनेर कतिपयको पेट पोल्न थालेको बताएका थिए ।

‘समाजवादीबाट प्रधानमन्त्री बन्छन् भनेर कतिपयको पेट पोल्न थालेको छ । न प्रधानमन्त्री बनिहाल्छन् कि भनेर यस्तो भएको हुनसक्छ,’ पार्टीनिकट अनेमसंघको कार्यक्रममा पुगेर वैशाख १७ गते नेपालले भनेका थिए, ‘हामी परिस्थितिलाई आफ्नो अनुकूल बनाउनुपर्छ भन्नेमै छौं । कसैको मन भित्रभित्रै पोलेको छ भने अझै दनदनी पोलोस् । हामी त्यस्तो प्रवृत्तिका मानिसप्रति धिक्कार भन्छौं ।’

उनै नेपालले बुधवार चितवन पुगेर सरकारमा रहे पनि पार्टीमा चैन नभएको बताए ।

‘अहिले हाम्रो पार्टी गठबन्धनमा छ, तर चैन छैन,’ नेपालले भने, ‘हामी संविधान र गणतन्त्रविरोधी शक्तिसँग हातेमालो गर्दैनौं ।’ यसो भन्दै गर्दा उनले ओलीलाई निसाना बनाएका थिए ।

नेपालको दौडधुपले झन् नजिकिँदै देउवा र ओली !

माधव नेपालको दौडधुपले देउवा र ओली झन् नजिकिने वातावरण बनेको कांग्रेसका एक नेता बताउँछन् ।

‘कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली जस्तोसुकै स्थितिमा पनि हार्दिकतापूर्ण सम्बन्धमा रहँदै आउनुभएको छ । गोदावरीमा भएको एमाले कार्यक्रमले पनि उहाँहरूको निकटतालाई दर्शाउँछ,’ ती नेता भन्छन्, ‘पछिल्लो समय राजनीतिमा देखिएको बेथितिलाई अन्त्य गर्नका लागि निर्वाचन प्रणाली बदल्ने, संविधान संशोधन गर्नेसहित इस्युमा एक हुनुपर्छ भन्नेमा हुनुहुन्छ ।’ 

माओवादी कम्युनिस्ट एकताका लागि लालायित छ । तर, एमाले र कांग्रेस दुवैभित्रका केही नेता प्रतिनिधिसभा सदस्यको संख्या घटाएर भए पनि दुई ठूलामध्ये एक बहुमतनजिक पुग्ने गरी संविधान संशोधनको पक्षमा छन् । यसैका लागि साना दलहरूको बार्गेनिङको पसल बन्द गराउने विषयलाई उनीहरूले प्राथमिकतमा राखेको नेताहरू बताउँछन् । 

यति मात्रै होइन, भूराजनीतिक सन्तुलनका लागि पनि कांग्रेस र एमाले मिल्नुपर्ने स्थिति देखिएको कांग्रेसका ती नेता बताउँछन् । ‘हामी यति अप्ठ्यारोमा छौं कि दुई ठूला दल मिलेर राजनीतिक स्थायित्व नदिने र नागरिकलाई आशावादी नबनाउने हो भने संविधान बचाउनसमेत कठिन छ,’ ती नेताले भने, ‘केही ढिला होला तर आवश्यकता भएकैले कांग्रेस र एमाले मिल्नेगरी विषय धेरै अगाडि बढिसकेको छ ।’

null

पछिल्लो समय नेपालले समीकरणकै दलभित्र खेल्न खोज्दा कांग्रेस–एमाले झन् छिटो मिल्ने स्थिति बन्ने ती नेता बताउँछन् । ‘गणित पुग्दा त हाम्रा सत्ता धरमरमा छन् । फेरि मुस्किलको सत्ता झन् दीर्घकालीन होइन भन्नेमा अब जिम्मेवार दलहरू पुगिसक्नुभएको छ,’ ती नेता भन्छन्, ‘माधव नेपालले पछिल्लो समय दिँदै आउनुभएको उथलपुथलको चेतावनी र दौडधुपले कांग्रेस–एमालेलाई छिटो नजिक ल्याउने वातावरण बन्दैछ ।’ 

एमाले अध्यक्ष ओली निकट स्रोतले पनि कांग्रेस र एमाले मिल्नुपर्ने विषयमा धेरै नै कुराकानी भएको स्वीकार्‍यो । ‘यसअघि एमालेले बसौं, कुराकानी गरौं भनेर धेरैपटक प्रयत्न गर्‍यो, अहिले कांग्रेस नेताहरूले त्यस्तै गरिरहनुभएको छ,’ ओलीनिकट स्रोतले भन्यो, ‘केही भेटघाट अवश्य भएका छन् । तर, अहिले नै समीकरण बदल्ने गरी विषय अगाडि बढेको छैन ।’ 

बुधबार मात्रै कांग्रेसका एक नेता ओलीलाई भेट्न बालकोट पुगेका थिए । दुई नेताबीच कोशी सरकारको अप्ठ्यारोसहितका विषयमा कुराकानी भएको थियो । 

‘अलि अगाडिदेखि नै एमालेसँग मिल्नुपर्ने विषयमा लबिङ गर्दै आउनुभएका कांग्रेसका नेताले हाम्रो अध्यक्षसँग भेट्न खोज्नुभएको थियो । बुधबार अध्यक्षसँग आधा घण्टाभन्दा बढी छलफल गर्नुभयो,’ ओलीनिकट स्रोतले भन्यो, ‘कोशीमा सरकार अल्पमतमा भएकाले संवैधानिक हिसाबले कसरी जाने र केन्द्रमा भइरहेका दौडधुपका विषयमा पनि छलफल भएको जानकारी पाएका छौं ।’

ओलीनिकट स्रोतका अनुसार वैकल्पिक गठबन्धनका लागि भइरहेको प्रयासबारे पनि ती नेताले ओलीलाई जानकारी दिएका थिए । 

‘२१ फागुनमा कांग्रेस सत्ताबाट बाहिरिए लगत्तैदेखि सोही पार्टीका नेताले अब एमालेसँग मिल्नुपर्छ भनेका थिए । तर, पछिल्लो केही दिनयता फेरि माधव नेपाललाई अगाडि सारेर पुरानै गठबन्धन ब्युँताउने गरी भएको प्रयासबारे पनि हामी सचेत छौं,’ ओलीनिकट स्रोतले भन्यो, ‘माधव नेपालको अग्रसरतामा पुरानो गठबन्धन ब्युँताउने प्रयास भए केन्द्र मात्र होइन, प्रदेशसम्मै भाँडभैलोको स्थिति आउँछ ।’

‘अहिलेको स्थितिसम्म ओली, प्रचण्ड र रास्वपा सभापति रवि लामिछाने एकै ठाउँमा छन् । यी तीन एक ठाउँमा हुँदासम्म कांग्रेसले खेल्न र साँघुरो बहुमतमा भर गर्न सक्ने स्थिति छैन,’ एमाले स्रोत भन्छ, ‘हाम्रो अध्यक्ष आफैं प्रधानमन्त्री बन्नुपर्छ भन्नेमा हुनुहुन्न, बरु खुला हुनुहुन्छ । उहाँको सिधा राजनीतिक मिसन छ । प्रधानमन्त्री हुन बहुमत ल्याउनुपर्छ, यसका लागि बलियो पार्टी बनाउनुपर्छ भन्नेमै हुनुहुन्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्