
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने बेला गठबन्धन दलभित्रै अविश्वास बढेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनको लागि शुक्रवार साँझ प्रदेश सभाको बैठक राखिएको भएपनि बस्न सकेन । अर्को बैठक शनिबार साढे ५ बजेका लागि तय भएको छ ।
उसो त, मुख्यमन्त्रीलाई समर्थन गरेका दलले नै विश्वासको मत दिने–नदिनेबारे औपचारिक निर्णय गरेका छैनन् । नेकपा एकीकृत समाजवादीका नेता सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री छन् ।
नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन भन्दै ह्वीप जारी गरेको छ । रेशम पक्षका ५ सांसदले मत नदिए पनि सोडारीको पक्षमा बहुमत पुग्छ । तर, अहिलेसम्म एमालेसमेत अनिर्णित छ ।
एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण भत्काउन देशी विदेशी शक्ति लागिपरेको बताएका छन् ।
वर्तमान समीकरण भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरू लागेको आरोप लगाए । पश्चिम नवलपरासी एमालेको ९ औं जिल्ला अधिवेशनको शुक्रवार परासीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
००००
बागमती प्रदेशसभा सचिवालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताए ।
००००
कोशी प्रदेश मन्त्रिपरिषद्को वैठकले प्रदेशको दोस्रो आवधिक योजना अवधारणपत्र स्वीकृत गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको वैठकले मुख्यमन्त्री कार्यालयबाट प्रस्तावित उक्त प्रस्ताव स्वीकृत गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए ।
००००
आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय टोलीको बिदाइको कार्यक्रममा पूर्वकप्तान सन्दीप लामिछाने पनि सहभागी भएका छन् ।
काठमाडौंका एक पाँचतारे होटलमा शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा सन्दीप सहभागी भएका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीको महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूभित्र सैद्धातिक र वैचारिक दुवै किसिमको भुइँचालो जाने दाबी गरेका छन् ।
एकीकृत समाजवादी रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले भुइँचालोका रुपमा ऐजन्डा ल्याउने बताए ।
००००
सरकारले ६ जना सचिवको सरुवा गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेसहित ६ सचिवहरूको सरुवा गरेको हो ।
मन्त्रिपरिषद् बैठकले पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । यस्तै बैठकले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्नेलगायतको निर्णय पनि गरेको छ ।
००००
झापामा कक्षा १२ को परीक्षा दिएर फर्केकी एक छात्रा घाइते अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्ण चन्दका अनुसार हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी एनिका अधिकारी गजमेर घाइते अवस्थामा फेला परेकी हुन् ।
००००
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री नियुक्ति भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार उनले वैशाख २३ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए ।