
सभामुखले देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । संसद्को बजेट अधिवेशनसको पूर्व सन्ध्यामा सभामुख घिमिरेले भोलि (मंगलबार) प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । संसद्को हिउँदे अधिवेशन यही वैशाख २८ गतेबाट शुरू हुँदैछ । बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल हुने सभामुखको सिचवालयले जनाएको छ ।
आगामी अधिवेशन शुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएको सचिवालयले जनाएको छ ।
सहकारी प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।
सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थियो । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो ।
संसद्को बर्खे अधिवेशन आगामी २८ गतेदेखि शुरू हुँदैछ । संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुखले संसदीय समितिका सभापतिहरू र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकहरूसँग अलग अलग भेट गरिरहेका छन् ।