
लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको जनता समाजवादी पार्टी पुनः सरकारमा सहभागी भएको छ। जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर लुम्बिनी प्रदेश सरकारको मन्त्रीको रूपमा कार्यभार सम्हालेका छन् ।
लुम्बिनीमा जसपाका ३ सांसद छन् । पार्टी विभाजनपछि अशोक राइको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुनेगरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका हुन् । अशोक राईको निर्देशनमा अहिरले मन्त्रालयको जिम्मेवारी सम्हालेको स्रोतले जनाएको छ । सहमति कार्यान्वयन नभएको भन्दै वैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
तर, उनको राजीनामा स्वीकृत भएको थिएन । जसपा विभाजनपछि लुम्बिनी प्रदेशमा समेत त्यसको प्रभाव देखिएको हो । राजीनामा दिएर सरकार बाहिर बसेका अहिर सोमवार कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पदभार ग्रहण गर्दै जिम्मेवारी लिएका हुन् ।
अहिरले राजनीतिक लाइन क्लियर गर्दै संस्थापनइतर समूहमा रहेको जनाउ दिएका छन् । 'कति दिन मन्त्रालयलाई बन्धक बनाएर राख्ने । असन्तुष्टिहरू पनि विस्तारै मेटिँदै जान्छन्,' उनले भने- 'हाम्रो पार्टीभित्र पनि समस्या देखिएको छ । कता जाने, के गर्ने भन्ने अझै निर्णय भइसकेको छैन । जता बहुमत हुन्छ उतै जाने हो ।'
लुम्बिनी प्रदेशमा नयाँ समीकरणको आधारमा सरकार बनाउँदा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति थियो । तर, सहमति कार्यान्वयन नभएको भन्दै पार्टीको निर्देशनमा अहिरले वैशाख ८ गते राजीनामा गरेका थिए । जसपाले २ वटा मन्त्रालयको दाबी गर्दै आएको थियो ।