नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अवस्थामा अर्थतन्त्र फरक ढंगले चलाउनेबारे सोच्न जरुरी रहेको बताएका छन् ।
लोकान्तरको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित इकोनोमिक डिबेट कार्यक्रममा बोल्दै अग्रवालले बाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक अवस्था अझै सुधार गर्न बाँकी रहेको बताएका हुन् ।
उनले अहिलेको जस्तो मन्दीको अवस्था धेरै समय नजाने बताए ।
'यो अवस्था धेरै रहँदैन,' उनले भने, ' बाह्य क्षेत्र सुधार भएको छ, आन्तरिक अवस्था पनि सुधार हुँदैछ । अर्थतन्त्रलाई भिन्न ढंगले चलाउनुपर्ने बारे सोच्ने बेला आएको छ ।'
अग्रवालले भर्खरै सम्पन्न लगानी सम्मेलनले स्वदेशी लगानीकर्तालाई पनि उत्साहित बनाएको बताए ।
सरकारले लगानी सम्मेलनलाई लक्षित गरेर सुधार गरेका ऐनहरू सकारात्मक भएको उनको भनाइ छ ।
'सरकार निजी क्षेत्रको समस्या समाधान गर्न गम्भीर छ जस्तो देखिन्छ,' उनले भने, 'निजी क्षेत्रको सहभागिता गराइएको छ, त्यसबाट पनि निजी क्षेत्र उत्साहित छ ।'
निजी क्षेत्रले बेहोर्नुपरेको समस्या के हो ? भन्ने प्रश्नमा उनले केही गम्भीर समस्याहरू रहेको उल्लेख गरे । 'उद्योगहरू ३०/४० प्रतिशतको क्यापासिटीमा चलिरहेका छन्, मागमा संकुचन आएको छ । यो अर्थतन्त्र एउटा हिसाबले रोकिएको अवस्था रहेको महसुस गरिरहेका छौं,' उनले भने ।
बैंकमा लगानीयोग्य पैसा थुप्रिएको, सहकारीमा पनि समस्या रहेको, घरजग्गा कारोबार पनि अड्किएकाले यसलाई समाधान गर्न भिन्न ढंगले सोच्नुपर्ने बेला आएको अग्रवालको भनाइ छ ।