१२ साउन २०८३, मंगलबार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

बैशाख २७, २०८१
काठमाडौं
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका–२ बस्ने ३८ वर्षीय वकिलबहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका–८ घर भई काठमाडौं महानगरपालिका–२६ गोङ्गबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउमध्ये वकिलबहादुर आलेले क्यानडा पठाईदिने भन्दै ६ जना पीडितहरू रु ३६ लाख तथा धर्मेन्द्रले युके पठाईदिने भन्दै दुई जना पीडितहरूबाट रु नौँ लाख ५० हजार ठगी गरेको खुल्न आएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले वकिलबहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका–६ बाट र धर्मेन्द्रलाई  काठमाडौँ गोङगबुबाट पक्राउ गरेको प्रवक्ता रेग्मीले बताए । 

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्