
बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको कारोबार गर्ने एकजना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित कालिकापथमा बैदवार फार्मेसी नक्कली नाम राखेर लागूऔषधको रूपमा औषधिको कारोबार गर्न मेडिकल सञ्चालन गर्दैआएका अछामको तुर्माखाँद गाउँपालिका– ८ घर भएका कमलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका विकले मान्यताप्राप्त चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री वितरण गर्न नहुने औषधि बिक्रिवितरण गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार विकले बुटवल उपमहानगरपालिका–८ मा दर्ता रहेको डिस्कामुनी मेडिकल हलको प्रमाणपत्र राखेर बैदवार फार्मेसी सञ्चालन गर्दैआएका थिए ।