.jpg)
ललितपुरमा रातो मछिन्द्रनाथको जात्रा शुरू भएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर बिहीबारदेखि जात्रा शुरू भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जात्राकै कारण सडक अस्तव्यस्त भएको हो । ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले ललितपुरका विभिन्न स्थानका सडकलाई डाइभर्ट गरेर सवारी आवागमनलाई सकभर सहज सुचारु गराउने प्रयास भइरहेको बताए ।
उनले भने,‘ यस वर्ष जात्रा लामो समय चल्ने र ललितपुरका मेयरसा'बले धेरै ठाउँबाट पाहुना बोलाउने भन्नुभएको छ । परापूर्व कालदेखि मनाउँदै आएको जात्रा रोक्ने कुरा भएन । ललितपुरबासी नै जात्रामा धेरै सहभागी हुने भएकाले सडक अन्य दिनको भन्दा अलिक अस्तव्यस्त हुनु स्वभाविक हो । सवारी रुटलाई अल्पकालीन रूपमा व्यवस्थापन गर्ने तयारीमा छौं ।’
ललितपुरको पुल्चोक, जावलाखेल, मंगलबजा लगायत स्थानमा सवारी आवागमनमा बाधा पुगेको छ ।
मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान गराएपछि विधिवत रूपमा मछिन्द्रनाथको जात्रा शुरू भएको मानिन्छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा बिहीबारबाट शुरू भएको हो ।