
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म सरकारका कुनै पनि काम कारबाही अगाडि बढ्न नदिने बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिवार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
'संसदीय समिति नबन्दासम्म नीति तथा कार्यक्रम मात्रै होइन, सरकारका कुनै पनि काम कारबाही अगाडि बढ्न सक्दैनन्', उनले भने, 'संसद् चल्न दिने/नदिने भन्ने विषयमा छलफल भएको होइन, सशक्त कसरी बनाउने भन्ने विषयमा छलफल भएको हो ।
सरकार संसदीय समिति नबनाइ जबरजस्ती अघि बढ्न खोजेको बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए ।
यसबारे संसदीय दलको बैठकमा थप छलफल हुने उनले जानकारी दिए ।
कांग्रेसले सोमवार संसदीय दलको बैठक बोलाएको छ ।
सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको समेत संलग्नताको रहेको भन्दै कांग्रेसले निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।
संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान कांग्रेसले राखेपछि शुक्रवार दुवै सदनका बैठक प्रभावित भएका थिए ।