
कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआईभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ ।
पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रुपमा मासिक रु एक हजारका दरले भत्ता वितरण गरेको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिकरुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआईभी सङ्क्रमितको पहिचान गर्न पालिकाको स्वास्थ्य शाखाको पहलमा सेती प्रादेशिक र मालाखेती अस्पतालमा एआरटी औषधि सेवन गरिरहेका व्यक्तिको खोज पडताल गरिएको जानकारी दिए ।
उनका अनुसार खोज पडतालका क्रममा पालिकाभित्र २७ जना एचआईभी सङ्क्रमित रहेका फेला परेका छन् ।
सङ्क्रमितमध्ये १५ पुरुष र १२ जना महिला रहेका छन् ।
गाउँपालिकाभित्र रहेका एचआईभी सङ्क्रमितको पहिचान गरी उनीहरूलाई पोषणको कमी हुन नदिन मासिक भत्ता वितरण गरिएको उनले बताए ।
स्वास्थ्य शाखामार्फत पोषणका लागि भत्ता वितरण गरिएको सङ्क्रमित कोही पनि सामाजिक रुपमा बाहिर खुलेका छैनन् ।
सङ्क्रमितहरूको आवश्यक कागजात जुटाइ बैंक खातामा एकमुस्ट छ महिनाको भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
बाँकी छ महिनाको भत्ता एकमुस्ट बैंकमा जम्मा गरिने पालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । पालिकामा पहिचान भएका सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिने उनको भनाइ छ ।
साथै पहिचान भएका सङ्क्रमितका बालबालिकालाई पालिकाभित्र रहेका विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको अध्यक्ष बोगटीले बताए ।