२४ असार २०८३, बुधबार

कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले विश्वासको मत नदिने, कांग्रेसले विरोध गर्ने

बैशाख ३०, २०८१
विराटनगर
कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले विश्वासको मत नदिने, कांग्रेसले विरोध गर्ने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिने भएका छन् ।

उनले सोमवार विश्वासको मत लिने भएपछि आइतवार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । तर विश्वासको मत लिने विषयमा सहमति जुट्न नसक्दा बैठक सरेको छ ।

कांग्रेसले भोलिको बैठक अवरोध गर्ने जनाउँदै आएको छ ।

‘सोमवार बस्ने बैठकमा हाम्रो विमति हुन्छ', नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले भने, ‘बैठक नै अवरुद्ध गर्ने या विरोध गर्ने भन्ने विषयमा भोलि बस्ने संसदीय दलको बैठकले निर्णय गर्छ ।’

कांग्रेसले संसदीय दलको बैठकपछि मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न माग गरेको थियो ।

कांग्रेसले सोमवार बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसको प्रस्तावपछि सहमतिमै बिहान साढे १० बजे बैठक बस्ने गरी सारिएको नेकपा एमालेकी सचेतक कमला दर्नालले बताइन् ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले वर्तमान मुख्यमन्त्रीविरुद्ध दायर गरेको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले भने हिक्मत कार्कीलाई विश्वासको मत नदिने बताएको छ ।

पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको कारण पनि सोमवार बस्ने संसद् बैठकमा उपस्थिति हुन नसक्ने एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले बताए ।

एमाले संसदीय दलका नेता कार्की र एकीकृत समाजवादीका नेता राईबीचको सम्बन्ध तिक्ततापूर्ण रहेको छ ।

समाजवादीलाई सरकारमा सहभागी गराउन नहुने भन्दै माओवादीले दोहोरो रोल खेलेपछि कार्की र राईबीचको सबन्ध झन् तिक्ततापूर्ण रहेको समाजवादीकै नेताहरू बताउँछन् ।

‘पहिला हाम्रो संसदीय दलका नेताले नै संसद् बैठकमा रोष्टमबाट नै मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन भन्नु भएको थियो', एक नेताले भने ‘तर पछाडि एकीकृत समाजवादी सरकारमा आए भाग खोसिने डरले माओवादीका साथीहरूले सहभागी नगराउन खोजेपछि थप उहाँहरू बीचको सबन्ध तिक्तता पूर्ण बन्दै गएको हो ।’

कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका १ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्