
दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । एएमएस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्तरूपमा आयोजना गरेको अवार्ड जापानको टोकियोमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको भएको हो ।
कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरूको ठूलो समूह जापान पुगेको थियो । वरिष्ठ कलाकार शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीत रत्न शम्भुजित बाँस्कोटा, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य चेतन सापकोटालगायत जापान जानुभएको थियो । त्यसैगरी अञ्जु पन्त, कमल खत्री, गजित विष्ट, पत्रकार ऋषि धमला र नरेश भट्टराई पनि टोकियो पुगेका थिए ।
समारोहमा संगीतरत्न शम्भुजित बाँस्कोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । उनलाई नगद ७१ हजार १०१ रुपैयाँसहित सम्मान अर्पण गरिएको हो ।
विभिन्न २६ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा भुवन केसी, शिव श्रेष्ठ, चेतन सापकोटा, ऋषि धमलालाई सम्मान गरिएको थियो । यस्तै जापानमा रहेर कार्य गरिरहेका जेएमई मनि ट्रान्सफर जापानका चेयरमेन ओम गुरुङ, व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली, एनआरएन आइआइसीका उपाध्यक्ष रविन श्रेष्ठ, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, एनआरएन जापानका अध्यक्ष नवीन निउरे, सेतुमाया तामाओके, पासाङ विश्कर्मा, डडिवल खडका, निमा लामा, राजेन्द्र सुनुवारलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । ‘पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने अभियान समृद्ध नेपाल निर्माणमा हाम्रो योगदान’ भन्ने मूल नाराका साथ टोकियोमा ए एम एस इन्टरनेशनल अवार्डको साथमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । सांस्कृतिक कार्यक्रममा नेपालबाट गएका र जापानमा रहेका स्थाानीय कलाकारहरू आ-आफ्नो प्रस्तुति दिएको अवार्ड आयोजककी अध्यक्ष सत्यकला लामाले जानकारी दिइन् ।
समारोहमा भर्सटाइल गायिका अवार्ड अञ्जु पन्त, वेष्ट पप सिंगर कमल खत्री, वेष्ट कोरियोग्राफर गजित विष्ट, स्मिता दाहाललगायतलाई अवार्ड प्रदान गरिएको थियो । जापानको आयोजकमा सनराइज कम्पनी अध्यक्ष कर्साङ तामाङ रहेका थिए । नेपाली संस्कृतिलाई विश्वव्यापी बनाउन र जापानमा लामो समय रहेर पेशा व्यवसाय गर्दै आएका नेपाली समुदायलाई आफ्नो भाषा, साहित्य, कला संस्कृतिसँग जोडन यो कार्यक्रमको आयोजना गरेको अध्यक्ष तामाङले बताए ।
एएमएसकी अध्यक्ष लामाले समृद्ध नेपाल निर्माणमा योगदान दिने उद्देश्यका साथ नेपालको पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानसहित जापानमा भव्य रूपमा अवार्डसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको बताइन् ।