
दिल्लीमा बसेर वैदेशिक रोजगारको नाममा ठगी धन्दा सञ्चालन गर्र्दै आएका तीनजनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बाका जगतबहादुर तामाङ, तनहुँ ऋषिङका जंगबहादुर बिक (बराल) र सोही ठाउँका विष्णुबहादुर बराली छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा तीनैजनालाई महेन्द्रनगरको गड्डाचौकी हुँदै काठमाडौं ल्याएको हो ।
सोमबार उनीहरूलाई सार्वजनिक गर्ने क्रममा अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पक्राउ परेकामध्ये तामाङ गिरोहको मुख्य नाइके भएको बताए ।
प्रहरीले यसअघि १० जनाबाट ठगी गरेको आरोपमा काठमाडौंमा बसेर एजेन्टको काम गर्ने तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । टासी शेर्पा, उनकी श्रीमती ङिमबुटी र आफन्त निमा शेर्पाले नै अमेरिका र क्यानडा पठाइदिने नाममा १० जनाबाट पाँच करोड ५० लाख रुपैयाँ उठाएर दिल्लीमा बसेका तामाङलाई पठाउँदै आएको प्रहरीले जनाएको छ ।
भारतको पहाडगञ्जमा नेपाल प्रहरी पुग्दा तामाङ, बिक र बरालीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर उनीहरू बसकै होटलमा हतकडी लगाएर राखेको थियो । उनीहरू दिल्लीमा विगत एक वर्षदेखि बसेर ठगीको धन्दा चलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘दिल्लीका लागि हाम्रो राति साढे नौ बजेको फ्लाइट थियो, आकाशमा जहाज तीन घण्टा होल्ड भयो,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘मध्यरातमा पुग्दा तीन जनालाई नियन्त्रणमा हतकडी लगाएर राखेको देखेपछि खुशी भयौं ।’

दिल्लीमा नेपालीले नै सञ्चालन गरेको होटल स्टे– इन डिएक्समा बसेका थिए ।
यो गिरोहले अमेरिका लैजाँदा नेपालको बाटो हुँदै दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर ६ महिनादेखि ९ महिनासम्म रकम र राहदानी लिई नेपालीलाई अलपत्र पार्दै आएका थिए ।
केन्या र युगान्डामा सम्बन्धित देशको नागरिक समेतलाई एजेन्ट राखेर काम गर्दै आएको गिरोहले अमेरिका पुर्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गिरोहले पीडितहरू अमेरिका प्रवेश गरेपश्चात जेलमा पर्ने र आफ्ना मानिसहरूले कानून व्यवसायी प्रयोग गरी जेलबाट मुक्त गरी रोजगारीमा लगाउने भनी पहिले नै आश्वासन दिएर विश्वासमा पारी रकम असुल्ने गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीका अनुसार पक्राउ परेका तीनजनालाई शुरूमा वैदेशिक रोजगार विभागमा पठाउने र उनीहरूमाथि संगठित अपराधमा समेत मुद्दा चलाउने तयारी छ ।
‘संगठित रूपमा वैदेशिक रोजगार ठगीमा संलग्न देखिएपछि उनीहरूलाई संगठित अपराधमा मुद्दा चलाउने राय हामी दिन्छौं,’ पन्थीले भने, ‘यो गिरोहद्वारा अरू नेपाली ठगिएको सम्बन्धमा पनि अनुसन्धान अघि बढाउँछौं ।’