
वीरगञ्ज महानगरपालिकाले विद्यार्थीको हौसला र उत्प्रेरणा जगाउनको लागि ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरुआत गरेको छ । वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले आज वीरगञ्जको बिर्तास्थित त्रिजुद्ध माध्यमिक विद्यालयबाट ‘कक्षा कोठामा मेयर’ कार्यक्रम शुभारम्भ गरेका हुन्।
नगरप्रमुख सिंहले साताको एक दिन विद्यालयको कक्षा कोठामा नै पुगेर विद्यार्थीलाई हौसला तथा उत्प्ररेणा जगाउने खालका कार्यक्रम अघि बढाइने बताए । ‘‘यो कार्यक्रमले सामुदायिक विद्यालय र विद्यार्थीको समस्याको पहिचान गर्न सघाउनेछ’’, उनले भने, ‘‘कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अगाडी बढाइनेछ ।’’ नगरप्रमुख सिंहले आफ्ना अग्रजहरुको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कुनै खालको कमी नगर्न विद्यार्थीलाई अनुरोध गरे ।