०२ असार २०८३, मंगलबार

'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन काठमाडौंका मेयर बालेन फ्रान्स प्रस्थान

जेठ १, २०८१
काठमाडौं
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन काठमाडौंका मेयर बालेन फ्रान्स प्रस्थान

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आज फ्रान्स प्रस्थान गरेका छन् । कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृङ्खलामा भाग लिन उनी मंगलबार बिहान फ्रान्स प्रस्थान गरेका हुन् ।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा सहभागी हुन लागेको महानगरले जनाएको छ । शाहसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि फ्रान्स गएका छन् । 

उनीहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरे । 

कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । 

प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ । 

फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुन्छन् । यस्तै अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्ने छन् । उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ । 

यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा: अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै चलचित्रमा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी सहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’को रुपमा २०८० सालको कात्तिकमै सूचीकृत गरेको छ । प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने महानगरले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्