१२ साउन २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

अदालतमा उपेन्द्र, सत्तामा जसपा

जेठ १, २०८१
काठमाडौं
अदालतमा उपेन्द्र, सत्तामा जसपा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
जनता समाजवादी पार्टी (जसपा)का दुई मन्त्रीले शपथ लिएका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । 

जसपाबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

त्यस्तै, राज्यमन्त्री हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका छन् । खानले जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् ।
००००
जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

जसपा नेपालका संसदीय दलका नेता उपेन्द्र  यादवले संसद् सचिवालयलाई सोमबार पत्र लेखेर समर्थन फिर्ता लिइएको जानकारी गराएका हुन् ।

प्रचण्ड सरकारमा उपप्रधानसहित स्वास्थ्य मन्त्री रहेका उपेन्द्र र वन तथा वातावरण राज्यमन्त्री रहेका दीपक कार्कीले सोमबार राजीनामा दिएका थिए । 

उपेन्द्रले समर्थन फिर्ता लिएसँगै जसपाको सत्तामा प्रवेश भएको हो । जसपा सरकारबाट बाहिरिएपछि प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ। 
००००
यसैगरी जनता समाजवादी पार्टी नेपाल गैरकानूनी रूपमा विभाजन गरी दल दर्ता गरेको भन्दै अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् । 
निर्वाचन आयोगले गरेको दल दर्ता गर्ने निर्णय बदर गर्नुपर्ने मागसहित जसपा नेपालका अध्यक्ष यादव आफैं निवेदक भएर सोमबार दिउँसो सर्वोच्चमा रिट दर्ता गराइएको हो ।

रिट सुनुवाइका लागि जेठ २ गते पेशी तोकिएको छ । आयोगले दल दर्तासम्बन्धी गरेको निर्णय गैरकानूनी रहेको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दिइएको हो ।
००००
राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने ६ हजार ७०५ जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । २ जना सहसचिव, ५९ जना उपसचिव, दशौं तहका अधिकृत ८ जनासहित ६ हजार ७०५ जनालाई ५ हजार रुपैयाँ जरिवाना गर्न सतर्कताले अख्तियारलाई प्रतिवेदन बुझाएको हो ।

००००
सरकारको आगामी आर्थिक वर्ष २०८१÷र८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले  सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
००००
संसद्को गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन् ।

संसद्को अवरोध अन्त्य गर्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाटपछि घिमिरेले ओलीसँग टेलिफोन संवाद गरेका हुन् । कांग्रेसले सहकारी ठगीको विषयमा छानबिन समिति नबनेसम्म संसद अवरुद्ध बनाउने चेतावनी दिँदै आएको छ ।
००००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि जेठ ३ गते बिहान १०ः३० बजे प्रदेश सभाको बैठक बस्ने सूचना टाँस गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।
कांग्रेस अनुपस्थित रहेको प्रदेश सभा बैठकमा राप्रपाले भने तटस्थमा मतदान गरेको थियो ।
००००
नेपाली कांग्रेस संसदीय दलको बैठकले हिक्मतकुमार कार्की नेतृत्वको सरकार अवैधानिक भएको ठहर गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मासहित बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले फैसला नआएसम्म अवैधानिक हुने ठहर गरेको हो ।
००००
अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना छन् ।

उनले वान एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टेबाजी गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्