
शान्ति, सुरक्षा, सेवा प्रवाह, विकास र सुशासनका जनअपेक्षा पूरा गर्न गृह प्रशासनलाई थप प्रभावकारी बनाइने भएको छ ।
मंगलवार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो उल्लेख गरेका हुन् ।
'शान्ति, सुरक्षा, सेवा प्रवाह, विकास र सुशासनका जनअपेक्षा पूरा गर्न गृह प्रशासनलाई थप प्रभावकारी, सबल, सक्षम र व्यावसायिक तुल्याइने छ,' राष्ट्रपति रामचन्द्र पौडेलले भने, 'सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरवलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने छ ।'
उनले सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाइने पनि बताए ।
'सुरक्षा निकायलाई भौतिक पूर्वाधार उपकरण बन्दोबस्ती, प्रविधिजस्ता क्षेत्रमा स्रोतसधान सम्पन्न तुल्याई आन्तरिक सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाइने छ । बहुआयामिक सुरक्षा अवधारणा अनुरूप सुरक्षा सूचकको विश्लेषणका आधारमा कमजोर अवस्थाका र राज्यले संरक्षण गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभूति दिलाइने छ,' राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।