
बागमती प्रदेशसभाले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत गरेको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगरनाथ थपलियाले पेस गर्नुभएको प्रदेश सरकारको आगामी आव २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत गरेको हो ।
प्रदेशसभाका सबै सदस्य सरकारको विनियोजन विधेयक स्वीकृतकै पक्षमा देखिएपछि सभामुख भुवनकुमार पाठकले सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत भएको घोषणा गरे ।
प्रदेशसभाबाट सर्वसम्मत स्वीकृत भएको विनियोजन विधेयकमाथि प्रदेशसभामा जेठ ६ गतेदेखि छलफल प्रारम्भ हुने सभामुख पाठकले घोषणा गरे । प्रदेशसभाको अर्काे बैठक भोलि जेठ २ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक सकिएको छ ।