
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा पेश गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
त्यसक्रममा उनले यस वर्षदेखि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ शुरू गरिने घोषणा गरे ।
‘महिलालाई आर्थिकरूपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालनमा ल्याइने छ,’ राष्ट्रपति पौडेलले भने ।
उनले गुणस्तर सुनिश्चित हुने गरी सरकारले घरेलु मदिरा ब्रान्डिङ गर्ने र विश्व बजारमा निर्यात गर्ने नीति लिएको घोषणा पनि गरे ।
सरकारी कर्मचारीको सेवा सुविधा समयानुकूल बनाउने, औद्योगिक ग्राम निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई आकर्षित गर्ने, प्रहरीको बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने र रिटायर्डको अवधि पुनरवलोकन गरिने तथा स्टार्टअप व्यवसायको लागि १ हजार युवालाई सहुलियतपूर्ण ऋण दिने घोषणा पनि नीति तथा कार्यक्रममा गरिएको छ ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मंगलबार प्रस्तुत नीति तथा कार्यक्रमको टिप्पणी गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले यसमा पुराना कार्यक्रमलाई निरन्तरता दिँदै धेरै नयाँ विषय समावेश भएको बताएका हुन् ।
००००
अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताएका छन् ।
००००
सत्तारुढ नेकपा एमालेका नेता एवं सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् ।
सो दलका प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रम समग्रमा उत्साहप्रद रहेको र कतिपय राम्रा कार्यक्रम उल्लेख भएको बताए ।
००००
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अबरुद्ध गरेको छ ।
छानबिन समिति माग गर्दै कांग्रेसले संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)का बैठक अबरुद्ध गरेको हो ।
मंगलवार साँझ बसेको प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले बैठक शुरू भएको घोषणा गर्ना साथ कांग्रेस सांसद बेल घेर्न गएका थिए । कांग्रेस सांसदले ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए । त्यसअघि संघीय संसदको बैठकमा भने राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बाचन गर्न दिइएको थियो ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल नहुने बताएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुतपछि संसद् भवन बाहिर प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कुनैपनि सरकारी प्रस्तावमाथि संसदमा छलफल नहुने बताए । उनले नीति तथा कार्यक्रममचा कुनै नयाँ विषय नआएको पनि बताए ।
००००
नेपाली कांग्रेसले संसद्मा गिरीबन्धु टी स्टेटको विषयलाई पनि उठाउने भएको छ ।
यसअघि सहकारीमा अरबौं ठगी भएको विषय उठाइरहेको कांग्रेसले अबदेखि गिरीबन्धु टी स्टेटको विषयलाई उठाउने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । यसलाई एजेण्डाकै रुपमा सदनदेखि बाहिरसमेत उठाउने कांग्रेसको भनाइ छ ।
००००
उच्च अदालत पोखराले दुई वर्षअघि भएको स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको ब्यास नगरपालिकाको मतगणना पुनः गर्न आदेश दिएको छ ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना पुनः हुनुपर्ने भन्दै त्यतिबेला उम्मेदवार दीपकराज जोशीले दायर गरेको मुद्दामा उच्च अदालतले मङ्गलवार आएर सो फैसला गरेको हो ।
००००
पोखरा महानगरपालिका–४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले मंगलबार आठ जनालाई पक्राउ गरेको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ अपचलन गरेका छन् ।
००००
शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।
००००
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा रहेको मुद्दाको मंगलबार बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए । आज पनि निरन्तर सुनुवाइ भएर फैसला आउने बताइएको छ ।
००००
नेपाल धितोपत्र बोर्डले लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवा शुल्क (कमिसन) घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ ।
००००
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र लेखेको छ ।
विदेशमा लुकेर बसेको आशंका गरिएका राईलाई पक्राउ गर्न असफल भएपछि प्रहरीले उक्त कदम चालेको हो ।
००००
नेपाल सरकारले ६० जना सहसचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सिफारिशअनुसार मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते उनीहरूको सरुवा गरेको हो ।