
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन् ।
नेपाल–युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
'सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढावा दिने नीति लिएको छ', प्रधानमन्त्रीले भने, 'बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ, आर्थिक विस्तारमा सहयोग गर्छ ।'
गत महिना सफलतापूर्वक सम्पन्न लगानी सम्मेलनमा विश्वका ५० भन्दा बढी देशहरूको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदाय नेपालमा लगानी ल्याउन उत्सुक छ भन्ने सन्देश प्रवाह भएको बताए ।
वैदेशिक लगानी भित्र्याउने नेपालको सत्प्रयासमा युरोपेली सङ्घका सदस्य मुलुकहरूसँग थप सहकार्य गर्न नेपाल तत्पर रहेको उनले बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपालले सन् २०२६ सम्म अतिकम विकसित मुलुकको वर्गबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको उनले बताए ।