२१ जेठ २०८३, बिहीबार

एनसेलले ल्यायो ‘फाइभजी भिजन’मा आधारित ‘सधैं अन’ योजना

जेठ २, २०८१
काठमाडौं
एनसेलले ल्यायो ‘फाइभजी भिजन’मा आधारित ‘सधैं अन’ योजना

एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैं अन’ योजना सार्वजनिक गरेको । सेवाग्राहीलाई सधैं इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ ।​​

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुगोस् भन्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरिएको बताए । 

'उपभोक्ताका आवश्यकता परिवर्तन हुँदैछन्, धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरू किनमेल, यात्रा, बैंकिङ कारोबारलगायत अनलाइनबाटै गर्ने भएकाले सधैं इन्टरनेटमा पहुँच पुगोस् भनेर योजना ल्याएका हौं', उनले भने ।

योजनाको मुख्य उद्देश्य नेपाली सेवाग्राहीलाई ‘फाइभजी’का लागि तयार पार्नु रहेको सीईओ कायुमोभले बताए ।

'फाइभजी ताररहित प्रविधिको भविष्य हो । यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० भन्दा बढी देशमा यो प्रविधि पहिले नै आइसकेको छ । भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस्', एनसेलको विज्ञप्तिमा भनिएको छ ।​

फाइभजीको केवल द्रुत इन्टरनेट मात्र नभई अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता रहेको भन्दै यसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटनलगायत क्षेत्रहरूको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जनाइएको छ । योसँगै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने कम्पनीले जनाएको छ । मोबाइल ब्रोडब्यान्ड स्पिडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा रहेको छ ।

‘सधैं अन’ योजना अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन समूहमा आठ वटा विभिन्न योजना सञ्चालनमा ल्याएको छ ।

'सात दिनको समयसीमा रहेको ९८ रुपैयाँबाट शुरू हुने योजनादेखि २८ दिन समयावधि रहेको १ हजार ४९९ रुपैयाँ पर्नेसम्मको विभिन्न योजना छन् । यो योजना लिने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्क डेटा पनि प्राप्त गर्नेछन्', कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्