०६ साउन २०८३, बुधबार
सरसर्ती २४ घण्टा

क्रिकेटमा सन्दीपको ‘कमब्याक’देखि चेपुवामा प्रचण्डसम्म

जेठ ३, २०८१
काठमाडौं
क्रिकेटमा सन्दीपको ‘कमब्याक’देखि चेपुवामा प्रचण्डसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला पूर्णरूपमा उल्ट्याउँदै बुधबार सन्दीपलाई सफाइ दिएको विमल पराजुलीले जानकारी दिए ।

बलात्कारको आरोप लगाएकी गौशाला २६ र सन्दीपका वकिलले मंगलबारदेखि बहस गरेका थिए । दुवैतर्फको बहस सुनेपछि न्यायाधीशद्वयले सन्दीपलाई सफाइ दिएका हुन् ।
००००
बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्रिकेटर लामिछानेले विश्वकप खेल्ने बाटो खुलेको छ । 

आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा हुन गइरहेको टी–२० क्रिकेट विश्वकपमा उनले खेल्ने बाटो खुलेको हो । त्यसका लागि बुधबारले नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गर्ने निर्णय गरिसकेको छ । यससँगै अब क्यानले आवश्यक प्रक्रिया पूरा गरेर खेलमा पठाउने बताइएको छ । 
००००
सफाइ पाएपछि क्रिकेटर लामिछानेले समर्थकहरूलाई धन्यवाद दिएका छन् ।

आफ्नो समर्थनमा भेला भएकाहरूलाई सम्बोधन गर्दै लामिछानेले आफूले निर्दोष छु भनेर पहिलो दिनदेखि नै भन्दै आएको कुरा प्रमाणित भएको बताए ।

‘फस्ट डेदेखि नै म आफू निर्दोष छु भनिराखेको थिएँ । धेरै नै तरिकाले फसाएर नभएको अपराधको दोषी करार गरिएको थियो,’ लामिछानेले भने, ‘फाइनल्ली हामी यहाँसम्म आइसकेका छौं । पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेको थिएँ । अब उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्नेछु ।’
००००
सहकारीपीडितको अर्बौ रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् । 

प्रधानमन्त्रीले समग्र सहकारीको समस्या समाधानका लागि एउटा संयन्त्र बनाएर जान सकिने गरी बीचको प्रस्ताव ल्याए पनि सत्ता साझेदार ठूलो दल एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसको चेपुवामा प्रचण्ड परेका हुन् । 

गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता भएको भन्दै उनीमाथि छानबिन गर्न संसदीय समिति गठनका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस झन्झन् आक्रामक हुन थालेको छ । 

लामिछानेको संलग्नता पुष्टि हुँदै आएकाले उनीमाथि छानबिन आवश्यक रहेको भन्दै कांग्रेस संसदीय दलले एक महिनाको बीचमा चारपटकसम्म औपचारिक निर्णय गर्दै उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । रवि गृहमन्त्री रहेको अवस्थामा छानबिन नै प्रभावित हुन सक्ने भएकाले उनैलाई इंगित गरेर समिति गठन गर्नुपर्ने मत कांग्रेसको रहेको सांसद प्रदीप पौडेल बताउँछन् । 
००००
जनता समाजवादी पार्टी (जसपा)नेपाल विभाजनविरुद्ध  पार्टी अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

जसपा नेपालका अध्यक्ष यादवले गत वैशाख २३ गते भएको जसपा विभाजनविरुद्ध निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सर्वोच्चले बुधबार सुनुवाइ गर्दै निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न भनेको हो ।
००००
प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र आज कुनै पनि टोलीको आरोहण नभएको हो।
००००
भन्सार नियमावलीमा व्यवस्था गरिएका केही प्रावधान खारेजीलगायतको माग राख्दै आन्दोलनरत आम जनता पार्टी (आजपा) र सरकारबीच ६ बुँदे सहमति भएको छ । 

बुधबार भन्सार विभागमा भएको छलफलका क्रममा ६ बुँदे सहमति भएको हो । 
००००
उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । 

बुधबार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।
००००
नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ ।
००००
नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । 

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए । मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिँदैछन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

संसद्मा कांग्रेसले गरिरहेको अवरोध, सरकारको नीति कार्यक्रमसहितका विषयमा प्रधानमन्त्रीले बुधवार दिउँसो एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् । सोही विषयमा सभामुख देवराज घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच पनि छलफल भएको छ ।
००००
आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत र्पुयाउने लक्ष्य राखिएको छ ।

राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको सोह्रौं योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत र्पुयाउने लक्ष्य राखिएको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव ५४ अङ्कले घटेको छ ।

बुधबार परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को विन्दुमा पुगेको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थ पूरा नहुँदा कांग्रेसले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । उनले संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको टिप्पणी गरे ।

एमाले संसदीय दलको बैठकलाई बुधवार सम्बोधन गर्दै ओलीले कोही व्यक्तिलाई आरोप लगाउने तर उसलाई बोल्न नदिने कांग्रेसको अड्डी लोकतान्त्रिक नभएको बताएका हुन् ।
००००
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित जिरोकिलोमा जलाएको अवस्थामा भेटिएको शव दोलखाका विष्णुप्रसाद सुवेदीको भएको पुष्टि भएको छ । 
गत वैशाख २८ मा उनी रुखमा फलामको तारले हातखुट्टा बाँधेको र जलेको अवस्थामा मृत फेला परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्