
संसद् बैठकमा गतिरोध आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गरेर एमाले अध्यक्ष केपी ओली झापाका लागि प्रस्थान गरेका छन् ।
सिंहदरबारमा संसद् गतिरोधबारे प्रधानमन्त्री प्रचण्डसँग केहीबेर छलफल गरेर ओली झापा प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘बिहीबार संसद्को गतिरोधपछि दलहरू झन् टाढिन पुगेका छन् । यसैले सदनको गतिरोध कसरी फुकाउने भनेर प्रधानमन्त्री र एमाले अध्यक्षले सिंहदरबारमा २० मिनेटजति छलफल गर्नुभएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘छलफलमा कांग्रेस सदन खोल्ने विषयबाट टाढिएको विषयमा कुराकानी भएको बुझेका छौं । गृहमन्त्रीलाई बोल्न दिनेमा सहमति गरे पनि कांग्रेसले बैठक अवरोध गरेको विषयमा कुराकानी भएको छ । जसले फेरि दलबीच तनाव बढाएको छ ।’
प्रधानमन्त्रीसँग छलफल गरेलगत्तै ओली झापातर्फ लागेका छन् ।
बिहीबार कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि बैठकमा तनावको स्थिति आएको थियो । हात हालाहालको स्थिति आएपछि सभामुखले तत्काल बैठक रोकेर शुक्रवार ११ बजेका लागि तय गरेका थिए । तर शुक्रबार ११ बजे बैठक बस्न सकेन । तर दलबीच संवाद भइरहेकाले संसद् बैठक निर्धारित ११ बजे बस्न नसकेको हो ।
नेपाली कांग्रेसले शुक्रबार बिहान संसदीय दलको बैठक राखेर गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई फेरि दोहोर्याएको छ । बिहीबार सभामुखको भूमिका तटस्थ नभएकोमा पनि कांग्रेसले प्रश्न उठाएको छ ।
दल बैठकपछि कांग्रेस विपक्षी ६ दलको छलफलमा जुटेको छ । यता सभामुखले पनि दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् ।