
नेपाल जिओटेक्निकल सोसायटीले शनिबार (भोलि) आफ्नो ३०औं वार्षिकोत्सव मनाउने भएको छ ।
‘नेपालमा पहिरो जोखिम व्यवस्थापन : बुझाई , मनन् र कार्यान्वयन' भन्ने नाराका साथ यस वर्ष आफ्नो स्थापना दिवस मनाउन लागिएको सोसायटीले जनाएको छ ।
शनिबार हुने कार्यक्रमको बिहानी सत्रमा धादिङ जिल्लाको धुनिवेशी नगरपालिकाको भुवनेश्वरी माविमा आम जनता र अन्य सरोकारवालाहरूका बीच विपदसम्बन्धी प्रदर्शनी र सचेतना कार्यक्रम रहनेछ ।
यस्तै, साँझ एनजीएस सदस्यहरू र आमन्त्रितहरूले काठमाडौंमा नेपालले बर्सेनि व्यहोर्दै आइरहेको भूखतरा (बाढी, पहिरो, आदि), भारी वर्षा, र बढ्दो जलवायु परिवर्तन प्रभाव लगायतका विषयमा छलफल हुनेछ ।
नेपाल जिओटेक्निकल सोसायटीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, 'भौगर्भिक हिसाबले हाम्रो भूगोल एक त जटिल छ, त्यसमा पनि मानवले गरेका हस्तक्षेपहरूले गर्दा थोरै पानी पर्दा पनि पहिरो गइहाल्ने अवस्था छ । एकातर्फ हामीले समुदायस्तरमा पहिरोको जोखिम बुझाउन सकिरहेका छैनौँ भने अर्कोतर्फ, सरकारले विभिन्न निकायहरूबीचको समन्वय र पूर्व सावधानीलाई जोड दिएर पहिरोजस्ता प्रकोपसँग जुझ्न पर्याप्त पहलकदमी गरिरहेको छैन ।'
वार्षिक रूपमा नेपालले सयौं विनाशकारी पहिरो र सडक छेउको ढलान असफलताको सामना गर्छ । विसं २०७० देखि २०८० सम्ममा ३,०६९ वटा पहिरोका घटनामा १ हजार ३ सय ५४ जनाको ज्यान गएको छ, जसमा प्रति वर्ष औसत १२३ जनाको मृत्यु भएको कहालीलाग्दो तथ्यांक रहेको एनजीएसले जनाएको छ ।
नेपालमा पहिरो, वर्षा र सडक निर्माणबीचको जटिल अन्तरक्रियालाई सम्बोधन गर्न, सामाजिक(आर्थिक प्रगतिलाई समर्थन गर्न एवं जीवन र पूर्वाधारको रक्षा गर्नका लागि भूप्राविधिक जोखिम व्यवस्थापनलाई एकीकृत गर्ने दिगो विकास अभ्यासहरूको आवश्यकता औंल्याउने उद्देश्यले कार्यक्रम गर्न लागेको एनजीएसका अध्यक्ष मन्दीप सुवेदीले बताए ।