
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सोमबार विश्वासको मल लिने भएका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
साथै सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने उनले विश्वास व्यक्त गरे ।
यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू ढुक्क रहेको बताए । 'विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन', उनले भने ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाइसकेको जानकारी दिए ।
प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको उनको भनाइ छ ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ । सोहीअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
जसपा नेपालले वैशाख ३१ गते प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।