
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।
स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम सङ्कलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो ।
मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुगेको छ । पूर्वाधार निर्माण भएसँगै बाह्य पर्यटक आउनेक्रम बढेको स्थानीयले बताएका छन् ।
म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलोमिटर पश्चिमको यात्रा गरेपछि यो ठाउँमा पुग्न सकिन्छ ।
यातायातका साधन अथवा पदमार्गमार्फत पनि पुग्न सकिने यस ठाउँमा मुख्यतः छन्त्याल समुदायको बाहुल्यता छ । छन्त्यालका अतिरिक्त यहाँ गुरुङ, मगर, थकाली, भण्डारी, थापा, क्षेत्री तथा दलित समुदाय गरी करिब एक सय १४ घरधुरीको मिश्रित बसोबास छ ।
गाउँमा पर्यटकीय पूर्वाधार निर्माण गर्न मच्छिमको भूमे युवा क्लब सक्रिय रहेको स्थानीय नगेन्द्र मल्ल ठकुरीले बताए ।
गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजित मेलाबाट सङ्कलन भएको रकमले यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिएको उनले जानकारी दिए ।
उनका अनुसार डाँडामा दृश्यावलोकन स्थल, सार्वजनिक शौचालय र प्रतीक्षालय निर्माण गरिएको छ ।
'मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर भ्युस्टेसनमा पूर्वाधार बनाएका हौं', ठकुरीले भने, 'पूर्वाधार निर्माणमा श्रमदानबाहेक करिब रु नौ लाख खर्च भएको छ ।'
यहाँबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन सूचनामूलक बोर्ड राखिएको छ ।
गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने स्थानीय ठकुरीले बताए । 'पानी पर्दा, हावाहुरी चल्दा प्रतीक्षालयमा आश्रय लिन सकिन्छ । शव दाहस्थल, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छ', उनले भने ।
गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ ‘गुरिल्ला’ पदमार्गमा पर्दछ । धार्मिक, प्राकृतिक तथा सांस्कृतिक विविधताले मच्छिमबाट धवलागिरि, चुरेन, गुर्जा तथा मानापाथि हिमाल आँखै अगाडि देख्न सकिन्छ ।
गाउँबाट एक किमी पश्चिममा छन्त्यालको टुकटुके र छिनोका माध्यमबाट खनिएको तामा खानी अवलोकन गर्न सकिन्छ ।
मच्छिम गाउँबाट केही माथि डाँडामा छन्त्याल जातिले कुल पूजा गर्ने कुल मन्दिर छ । उक्त मन्दिर परिसरबाट हिमशृङखला आँखै अगाडि उभिएको देखिन्छ ।
गाउँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय युवा सक्रिय भएर पूर्वाधार निर्माणमा जुटेका अगुवा महिला तिला छन्त्यालले बताइन् ।
उनका अनुसार युवाले विविध सांस्कृतिक कार्यक्रम र चन्दा सङ्कलन गरेर हेम नमूना आवासीय मावि काफलडाँडा, मच्छिमको भूमे आधारभूत विद्यालय र फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्रीसमेत सहयोग गरेका छन् ।
गाउँका विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई दाल, चामललगायत खाद्यान्न सामग्री सहयोग गर्ने गरेका छन्त्यालले बताइन् ।
यहाँका युवा फुर्सदका समयमा सामाजिक काम र खेलकुदका गतिविधिमा सहभागी हुँदै आएका उनको भनाइ छ ।