
कोशी प्रदेशमा १३७ पालिकामध्ये ६ पालिकामा महिलाको नेतृत्व रहेको छ । २०७४ सालको निर्वाचनमा प्रदेशको एउटा पालिकामा मात्रै महिला नेतृत्व थियो । २०७९ को निर्वाचनपछि भने ६ पालिकाको नेतृत्व महिलाले गरेका छन् । अघिल्लो कार्यकालमा झापाको कमल गाउँपालिकामा अध्यक्ष मेनुका काफ्ले मात्रै पालिकाको नेतृत्वमा पुगेकी एक्ली महिला थिइन् । अहिले पनि प्रदेशका २ नगरपालिका र ४ गाउँपालिका महिलाले हाँकिरहेका छन् ।
स्थानीय सरकारको नेतृत्व गरिरहेका महिला प्रमुखहरू सबैले अब्बल काम गरेर देखाउने प्रयास गरेका छन् । आफ्नो कार्यकाल सकिँदा महिलाले चलाएका पालिका भनेर चिन्नसक्ने परिणाम दिने अठोट उनीहरूको छ । तथापि महिला प्रमुख भएको पालिकाहरूमा पुरुषको विभेद भने कायमै रहेको गुनासो सुन्ने गरिएको छ । ‘महिलाले के नै गर्न सक्छन्’ भनेर लान्छना लगाउने प्रयास भइरहेको अनुभूति उनीहरू स्वयंले गरिरहेका छन् । पुरुषप्रधान समाजलाई चिरेर महिलाले नेतृत्व गरेको सरकार भनेर छुट्टै तरिकाले चिनाउने उनीहरूको अठोट छ । उनीहरुले नेतृत्व गरेका पालिकामा छिटफुटबाहेक कतै ठूलो विवाद देखिइएको छैन ।
झापाको बिर्तामोड नगरपालिका र गौरीगञ्ज गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र जन्तेढुंगा गाउँपालिकामा महिला नेतृत्व छ । अधिकांश पालिकामा अघिल्लो कार्यकाल उपप्रमुख वा उपाध्यक्ष भएकाहरू अहिले प्रमुख र अध्यक्ष भएर नेतृत्व गरिरहेका छन् ।

झापाको बिर्तामोड नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)की पवित्रा महतरा प्रसाईं निर्वाचित भइन् । उनी अघिल्लो कार्यकालमा उपप्रमुख थिइन् । नेपाली कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मतान्तरले पराजित गर्दै उनी मेयर बन्न सफल भएकी थिइन् ।
महतराले १६ हजार ५२० मत प्राप्त गर्दा सिटौलाले १२ हजार ७६२ मत मात्र पाएका थिए । ५१ वर्षीया महतरा कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएकी हुन् । त्यसो त उनले टिकट पाउनकै लागि ठूलो संघर्ष गर्नुपरेको थियो । महिलालाई टिकट दिँदा चुनाव जितिँदैन भनेर पार्टीका केन्द्रीय नेताहरू नै उनका विरुद्धमा लागेका थिए ।
नेतृत्वमा आएपछि महतराले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरेकी छिन् । आफू निर्वाचित भएर आउनुअघि सरकारी विद्यालयको दुरावस्था रहेको उनले बताइन् । ‘सामुदायिक विद्यालयमा छोराछोरी पढाउँछु भन्दा अभिभावक लजाउने अवस्था थियो,’ उनले भनिन्, ‘अहिले विद्यालयहरूको अवस्थामा सुधार भएको छ । शिक्षकलाई तालिमदेखि प्रोजेक्टरबाट अध्ययन–अध्यापन गराउने, सबै विद्यालयमा स्मार्ट बोर्ड तथा ई–हाजिरीको व्यवस्थापनसमेत नगरपालिकाले गरेको छ ।’

नगरपालिकाका १० वटै वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । नगर अस्पताल बनाएर दैनिक पाँच सयभन्दा धेरैलाई सेवा दिने गरिएको छ । तीनजना विशेषज्ञ र चारजना मेडिकल अधिकृतको व्यवस्थापन गरेर नगर अस्पताल सञ्चालन भएपछि सामान्य उपचार लिन भद्रपुर पुग्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताइन् ।
महिलाको रुपमा पालिकाको नेतृत्व गर्न पाउँदा गौरवको महसुस भएपनि धेरै संघर्ष गर्नु परेको उनी बताउँछिन् । ‘महिला भनेर डोमिनेट गर्ने, अफवाह फैलाउने, धम्कीहरू दिने, काम गर्दा घेराबन्दी गर्नेजस्ता गतिविधिले मलाई हैरान बनाएको छ,’ उनले गुनासो गरिन् । सबै चुनौतीलाई सामना गरेर अगाडि बढेको उनी बताउँछिन् ।
झापाको गौरीगञ्ज गाउँपालिकामा कांग्रेसकी ४५ वर्षीया फूलमती राजवंशी अध्यक्ष छिन् । एमालेका उम्मेदवार विजय अग्रवाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । राजवंशीले ५ हजार ६८९ मत प्राप्त गर्दा अग्रवालले ३ हजार ३३० मत पाएका थिए ।

अघिल्लो कार्यकालमा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी उनी आफ्नो प्रभावकै कारण उपाध्यक्ष हुँदै अध्यक्ष बन्न सफल भएकी हुन् । अघिल्लो पटक राप्रपाका बाबुराजा श्रेष्ठ अध्यक्षमा निर्वाचित हुँदा उनी उपाध्यक्ष बनेकी थिइन् । यसपटक उपाध्यक्षमा एमाले उम्मेदवार विजयी बन्दा राजवंशी अध्यक्ष निर्वाचित भइन् । उनी उपाध्यक्ष हुँदा अध्यक्ष रहेका श्रेष्ठ यो पटक पनि चुनावी मैदानमा उत्रिएका थिए । तर, उनी तेस्रो मात्र भए ।
अध्यक्ष निर्वाचित भएपछि स्वास्थ्य र शिक्षामा जोड दिएर काम गरिरहेको राजवंशी बताउँछिन् । गौरीगञ्ज भारतसँग सीमाना जोडिएको दुर्गम पालिका भएकाले शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गर्नु प्रमुख आवश्यकता रहेको उनको भनाइ छ । शिक्षा क्षेत्रमा ११ र १२ मा निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम पालिकाले अगाडि बढाएको छ । यस्तै छात्राहरूलाई विद्यालय जान प्रोत्साहनको लागि ‘छोरी पढाउ’ अभियान सञ्चालन गरी २३६ वटा साइकल वितरण गरिएको छ । पालिकामा ४ वटा मात्रै माध्यमिक विद्यालय छन् ।
पालिकाले विपन्नलाई निःशुल्क स्वास्थ्य वीमा गरिदिएको छ । अपाङ्गता भएकालाई पनि बेमौसमी खेतीको तालिमसँगै ब्रेनलिपिको विशेष कक्षा सञ्चालन गरिएको छ । किसानलाई सिँचाइका लागि खेत–खेतमा विद्युत् लगिदिएको छ । विपन्न सन्थका ३७ परिवारलाई घर बनाइदिएको छ ।
गौरीगञ्जकी उपाध्यक्ष पनि महिला नै छन् । महिलालाई भरोसा गरे आफूहरूलाई जिताएकाले मिलेर काम गरेको अध्यक्ष राजवंशी बताउँछिन् । सबैको सहयोगमा काम गरिरहेको उनको भनाइ छ । महिलाले नेतृत्व गरेका पालिकामा संघ तथा प्रदेशले विशेष सहयोग गरुन् भन्ने आफ्नो चाहना रहेको उनी बताउँछिन् ।
मोरङको कानेपोखरी गाउँपालिकामा एमालेकी राजमती इङ्नाम कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएकी थिइन् । उनले ८ हजार ९७५ मत प्राप्त गर्दा भट्टराईले ५ हजार ८४६ मत पाएका थिए ।

गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष रहेकी ५३ वर्षीया इङ्नाम भारी मतान्तरले अध्यक्षमा निर्वाचित भएकी छिन् । उनले औपचारिक शिक्षाको डिग्री प्राप्त नगरेको भएपनि पालिकाको कुशलतापूर्वक नेतृत्व गरिरहेकी छन् । उनी साहसी र खरो स्वभावकी महिला नेतृ पनि हुन् । यसका बीच पनि आफूलाई महिला भएकै कारण काममा असहयोग भइरहेको उनको गुनासो छ ।
विपन्न ऋषिदेव समुदायलाई घर बनाइदिएको पालिकाले तोरीको गुन्द्रुक, करेलाको सुकुटी र शुद्ध तोरीको तेल उप्पादन गरेर वितरणको योजना बनाएको छ । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई निःशुल्क पठनपाठन गराइरहेको पालिकाले ‘सासुको इच्छा बुहारीलाई शिक्षा’ भन्ने नारा दिएर रमाइलो बहुमुखी क्याम्पसमा पढ्न चाहने बुहारीको पठनपाठनको खर्च आफैं ब्यहोरेको छ ।
महिलाले चलाएको भनेर डोमिनेट भने हुने गरेको प्रमुख इङ्नामले बताइन् । ‘नेपालीमा लागेको बानी हट्दैन भनेर सामना गर्दै अगाडि बढिरहेकी छु,’ उनले भनिन् ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीनादेवी कार्की १ हजार २६० मतसहित माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतलाई १४७ मतान्तरले पराजित गर्दै विजयी भएकी थिइन् । पालिकाका निवर्तमान अध्यक्ष रहेका बस्नेतले १ हजार ११३ मत ल्याएका थिए ।

गाउँपालिकामा निवर्तमान अध्यक्षलाई पराजित गरेकी ५४ वर्षीया कार्कीले शिक्षा र स्वास्थ्यमा प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन् ।
यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका ४१ वर्षीया मेयर विमला राईले हाँकिरहेकी छिन् । कांग्रेसबाट उम्मेदवार भएकी उनले एमालेका खडेन्द्र राईलाई पराजित गरेकी हुन् । विमलाले ६ हजार ३१७ मत प्राप्त गर्दा एमाले उम्मेदवार खडेन्द्रले ५ हजार ९३४ मत पाएका थिए ।

विमला पनि पालिकाको निवर्तमान उपप्रमुख हुन् । आफू निर्वाचित भएर आएपछि सुशासनलाई पहिलो प्राथमिकता दिएको उनले बताएकी छिन् । बेरुजु नआउने गरी काम गरिरहेको पालिकाले प्रविधिसँगै मानवीयता हराउँदै गएको अवस्थामा शिक्षामा जोड दिएको जनाएको छ । कक्षा ४ देखि ९ सम्म पालिकाले नै एसईई सिस्टमबाट परीक्षा लिने गरेको छ । अघिल्लो शैक्षिक सत्रमा १० देखि १५ प्रतिशतसम्म मात्रै विद्यार्थी उतीर्ण भएका थिए । यस शैक्षिक सत्रमा भने ३८ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । यसले सामुदायिक विद्यालयहरूमा सुधार आएको देखाएको छ ।
पठनपाठनमा असर नगरोस् भनेर नगरपालिकाले महिला शिक्षक सुत्केरी भएर विदामा बस्दा छुट्टै शिक्षकको व्यवस्थापन गर्ने गरेको छ । हलेसी तुवाचुङ धार्मिक पर्यटन र कृषिमा सम्भावना बोकेको पालिका पनि हो । किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण आफैँ गरिदिने नीति नगरपालिकाले लिएको छ । किसानले उत्पादन गरेका बस्तुको बजारीकरणका लागि कृषि संकलन केन्द्र स्थापना गरिएको छ । संघ र प्रदेशबाट कानूनहरू समयमा नबनेका कारण काममा केही जटिलता रहेको नगर प्रमुख राईले बताइन् ।
खोटाङकै जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी अरुणादेवी राई निर्वाचित भएकी छिन् । उनले गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका शंकरबहादुर राईलाई पराजित गरेकी हुन् । अरुणाले २ हजार ८८१ मत प्राप्त गरी विजयी हुँदा एमालेका उम्मेदवार शंकरले २ हजार ५७५ मत प्राप्त गरेका थिए ।

अघिल्लो निर्वाचनमा अरुणा अध्यक्षमा शंकरसँगै पराजित भएकी थिइन् । उनले गएको ५ वर्ष नेतृत्वमा नरहँदा पनि पालिकाबासीको पक्षमा काम गरेकोले यसपटक जनअनुमोदित हुने अवसर पाएकी हुन् ।
शिक्षालाई नै प्राथमिकता दिएर काम गरेको बताउने अरुणा सेवा प्रवाहलाई थप प्रभावकारी बनाइ सुशासनको अनुभूति नागरिकलाई गराउन काम गरिरहेकी छिन् । गाउँपालिकाको क्षमता विकास गर्न विद्युतीय प्रणालीबाट सेवा प्रवाहको काम अगाडि बढाएको उनको भनाइ छ ।