
सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । प्रतिनिधिसभाको बैठकअघि सभामुखले आइतबार बिहान साढे १० बजेका लागि सचेतकको बैठक बोलाएका हुन् ।
दलहरूबीच संसदीय छानबिन समिति गठनमा सैद्धान्तिक सहमति भएपछि सभामुखले बैठक बोलाएका हुन् । सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नेबारे दलहरूबीच शनिबार भद्र सहमति भएको थियो । समितिको कार्यादेश (टीओआर) लगायत विषयमा सत्ता र प्रतिपक्षी दलबीच छलफल भइरहेको छ ।
संसदीय छानबिन समिति गठनको विषयलाई लिएर बिहीवार प्रतिनिधिसभामा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । शुक्रबार भने बैठक बस्दै नबसी स्थगित भएको थियो । प्रतिनिधिसभा बैठक आइतवार बिहान ११ बजे बस्दैछ ।