०८ असार २०८३, सोमबार

राष्ट्रिय सभाको बैठक स्थगित​​

जेठ ६, २०८१
काठमाडौं
राष्ट्रिय सभाको बैठक स्थगित​​

राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

आज दिउँसो १ बजेर १५ मिनेटका लागि आह्वान गरिएको बैठक समयमा बस्न नसक्दा पुनः दिउँसो ३ बजेर १५ मिनेटका लागि तय भएको थियो । 

दोस्रोपटक पनि तोकिएको समयमा बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

संसद्‌मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न सहकारी संस्थाको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

छानबिन समिति गठनका लागि दलहरूबीच सहमति भए पनि त्यसको कार्यादेश भने अझै टुङ्गिन सकेको छैन । 

सत्ता पक्ष दल र प्रमुख प्रतिपक्षी दलबीच कार्यादेश टुङ्ग्याउनेबारे आज बिहानैदेखि छलफल भइरहेको छ । अहिलेसम्म कार्यादेशको टुङ्गो भने लाग्न सकेको छैन ।​

राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची तय गरिएको थियो ।

साथै अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची थियो ।

आज निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १ गते राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तोकिएको थियो ।

आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची थियो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक,२०८०’ सभा समक्ष पेस गर्ने तथा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन), २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची थियो ।

salt training

कमेन्ट गर्नुहोस्