
टर्कीका ड्रोनले इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पारेको छ
इरानी राष्ट्रपति इब्राहिम रायसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको छ । समाचार एजेन्सी अनादोलुका अनुसार टर्कीले राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो।
एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिएको छ । एजेन्सीका अनुसार फुटेजबाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ।
आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाह्यान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।
इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार भएको पुष्टि गरेका छन् ।
यो हेलिकप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए । यो हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो ।
राष्ट्रपति राईसीको खोजीमा आइतबारदेखि व्यापक अपरेशन चलिरहेको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले यो दुर्घटनाबाट इरानको प्रशासनलाई कुनै असर नपर्ने बताएका छन् ।