
नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको विरोधबीच जबर्जस्ती प्रधानमन्त्रीले विश्वास मत लिएर संविधानको खिलापमा लागेको बताएका छन् ।
सहकारीका रकम अपचलनविरुद्ध संसदीय समिति गठनको माग गर्दै कांग्रेस विरोधमा उत्रिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिएपछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो ।
‘प्रधानमन्त्रीले आज नै विश्वासको मत लिनुपर्ने कुनै प्रष्ट कारण थिएन । झन् विपक्ष आफ्नो कुरा राख्दै बेलमा आउँदा यसरी विश्वासको मत लिएको हाम्रो नजिर छैन', प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने, ‘सत्तारुढ दलले संसदीय इतिहासमा अनौठो नजिर राख्नुभएको छ । यो भनेको हामीले बनाएको संविधानको खिलापमा सत्ता गठबन्धनका दलहरू लागेको पुष्टि हो ।’
कांग्रेसले वेल घेराउ गरे पनि सभामुख देवराज घिमिरेले मर्यादापालक लगाएर प्रधानमन्त्रीलाई विश्वासको लिने वातावरण बनाएका हुन् ।
यस क्रममा विश्वासको मतको प्रस्तावबारे प्रतिनिधि सभाको बैठकमा छलफलसमेत गराइएन ।
सत्तारुढ दल एमालेका विष्णु पौडेलले मात्रै बोलेपछि प्रधानमन्त्रीले जवाफ दिने र मत विभाजनमा लाने प्रक्रिया अपनाइएको थियो ।