०४ असार २०८३, बिहीबार

स्थानीय विवाद समाधान गर्न काठमाडौं महानगरले गर्‍यो ‘न्याय चौतारी’को थालनी

जेठ ८, २०८१
काठमाडौं
स्थानीय विवाद समाधान गर्न काठमाडौं महानगरले गर्‍यो ‘न्याय चौतारी’को थालनी

स्थानीय विवाद सामूहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौं महानगरपालिकाले ‘न्याय चौतारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो । चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन । चौतारीको उपयोगिता के हो, भन्ने विषयमा छलफल गरिएको थियो । 

कार्यक्रम शुरू गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चौतारीमा सरोकारवाला पक्ष बसेर गरिएको छलफल, न्यायमा जित र हारको होइन, दुवै पक्षको लाभमा केन्द्रित हुने बताइन् । ‘न्यायमा हारेर कसैले पीडा बोध गर्नु नपरोस् । झगडाका कारण समय र सम्पत्ति खर्च गर्नु नपरोस् । विवादमा अल्झिएर जीवन समस्यामा नपरोस्, भनेर हामीले न्यायलाई नागरिकको आँगनमै पुर्‍याउन कार्यक्रम आयोजना गरिएको हो,’ उनले भनिन्, ‘आदर्श समाजको कल्पना गरौँ । जहाँ विवाद नै नहोस् । विवाद भएर अड्डा अदालत जानुभन्दा हाम्रा प्रचलित सामाजिक व्यवस्थाअनुरुप समाधान गरौँ । यसैमा सबैको भलो छ ।’

हिँसा के हो, भन्ने चेतना नभएका कारण व्यक्ति अन्यायमा परिरहेको हुन सक्ने बताउँदै उनले न्याय चौतारीले कानुनी व्यवस्थाका बारेमा जानकारी दिने बताइन् । 

सामाजिक मान्यताका प्रसङ्ग उठाउँदै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले ठूलो रुखको मुनि बस्दा एकसरो पानी छेकिने भनाइमा बिम्ब रहेको बताए । ‘सानातिना विवादलाई त्यही मिलाउन पाए धेरै द्वन्द्वहरू सिर्जना भएकै ठाउँमै रोकिन्छन् । हामीले देश वुझ्यौँ । विदेश वुझ्यौँ । तर, आफ्नै मौलिक राम्रा अभ्यास बिर्सियौँ । यसरी बिर्सिएका अभ्यासमध्ये चौतारीमा आफूआफू बसेर विवाद मिलाउने अभ्यास पनि हो,’ उनले भने, ‘चौचारीबाट ‘आकाश छेड, धर्ती नछोड’जस्ता दायित्व सम्झाउने विषय, सचेतनाका रूपमा छलफल हुन्छन् । यसले व्यक्तिको आवेग, ईख र महात्वाकांक्षा  कम गराउँछ । यो विवाद सिर्जना हुन नदिने वातावरण हो ।’

कार्यक्रममा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले शासन व्यवस्था परिवर्तनपछि स्थानीय तहमा न्यायिक समिति गठन गरेर औपचारिक संयन्त्र निर्माण भएको बताए । ‘अहिले त समितिमा भएका अधिकार वडामा वडाबाट पनि टोलका चौतारीमा आएको छ । यो न्यायिक विकेन्द्रीकरणका कोणबाट सराहनीय अभ्यास हो,’ उनले भने ।

वडामा हुने मेलमिलापका कामलाई न्याय चौतारीले अझ सहज र सरल बनाउन सहयोग गर्ने न्यायिक समितिकी सदस्य एवं वडा महिला सञ्जालकी संयोजक आशा श्रेष्ठ रौनियारले बताइन् । 

आफ्ना टोलका समस्याबारे आफ्नै टोलमा छलफल गर्ने संस्कार विकास गर्न चौतारी संरचना निर्माण गर्ने, भएका चौतारीलाई संरक्षण गरेर छलफल चलाउने वडाको योजना छ ।
 

salt training

कमेन्ट गर्नुहोस्