०९ साउन २०८३, शनिबार
संसद्‌मा कांग्रेसको चुनौती

‘विदेशीलाई सूचना बेचेको प्रमाणित गर्न नसके गृहमन्त्रीलाई सदनबाट गलहत्याउँछौं’

जेठ ८, २०८१
काठमाडौं
‘विदेशीलाई सूचना बेचेको प्रमाणित गर्न नसके गृहमन्त्रीलाई सदनबाट गलहत्याउँछौं’

नेपाली कांग्रेसले देशको सूचना बेच्ने संसद् भित्रका एजेन्ट प्रमाणित गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएको छ ।

प्रमाणित गर्न नसके गृहमन्त्रीलाई सदनबाट गलहत्याएर बाहिर पठाउने कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको भनाइ थियो ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सहमहामन्त्री पाण्डेले गृहमन्त्रीले संसद्‌मा बोलेको कुरा प्रमाणित गर्न सभामुखको रूलिङ माग गरेका हुन् ।

‘गृहमन्त्रीले राष्ट्रिय सूचना बेच्ने एजेन्ट यही सदनमा छन् भन्नु भएको छ । माननीय गृहमन्त्री त्यो को हो ? देखाउनुस् उसलाई गलहत्याउन हामी तपाईँको पछि लाग्छौं’, पाण्डेले संसद्‌मा भने, ‘होइन निराधार आरोप लगाउँदै हुनुहुन्छ भने, तपाईँलाई सदनबाट गलहत्याउने कामबाट चुक्ने छैनौं ।’

यसअघि आइतबार प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेले देशका सूचना बेच्ने एजेन्ट यही संसद्‌मा रहेको आरोप लगाएका थिए ।

‘मन्त्री या पार्टीको महामन्त्री जो भएपनि त्यस्तालाई निकाल्नु पर्छ’, लामिछानेले भनेका थिए । 

सांसद बद्री पाण्डेले गृहमन्त्रीले बोलेको कुरा प्रमाणित गर्न नसके संसद्को रेकर्डबाट हटाउनु पर्ने बताए ।

‘सभामुखलाई आग्रह गर्न चाहन्छु, उहाँले लगाएका आरोप सत्य हुन भने प्रमाणित गरेर देखाउनुस् । होइन भने संसद्को रेकर्डबाट हटाउन सभामुखको रूलिङ चाहियो’, पाण्डेले भने ।

salt training

कमेन्ट गर्नुहोस्