
नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम् पदसोपानबमोजिम निजामती सेवामा तलब–भत्ता समायोजन हुनुपर्ने माग गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै तह, श्रेणी र पदका कर्मचारीको तलब समायोजन गर्न माग गरेको हो ।
नेपालका कर्मचारीलाई पनि देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महङ्गीका आधारमा नेपालसँग समान आय भएका विश्वका अन्य देश र सार्क राष्ट्रहरूले प्रदान गर्ने सरहको तलब तथा सेवा सुविधाको व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ ।
युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले सोमबार अर्थमन्त्रीलाई भेटेर आफूहरूले मागहरु पेश गरेको जानकारी दिए । यसपटक आफूहरूले श्रेणीविहीन कर्मचारीको तलब कम्तीमा पनि ४५ हजार रुपैयाँ बनाउनुपर्ने माग राखेको उनले बताए । सोही आधारमा अन्य कर्मचारीको पनि तलब बढ्नुपर्ने युनियनको माग छ ।
साथै, समान पदमा रहेको सुरक्षा निकायमा काम गर्ने कर्मचारीभन्दा निजामती कर्मचारीको मर्यादाक्रम अगाडि रहेको बताउँदै उनले सुरक्षा निकायका कर्मचारीको र निजामती कर्मचारीको तलबमा विभेद रहेको बताए ।
साथै, निजामती कर्मचारी अस्पतालमा बहालवाला कर्मचारीहरूले शतप्रतिशत छुटमा उपचार गराउन पाउनुपर्ने युनियनको माग छ । आर्मी, प्रहरीको अस्पतालमा सो सुविधा रहेको बताउँदै अध्यक्ष पोखरेलले चेकजाँचदेखि अप्रेसनसम्मका सबै सुविधा निःशुल्क हुनुपर्ने बताए ।
साथै, निजामती अस्पताललाई प्रदेश–प्रदेशमा स्थापना गर्ने पहल गर्नुपर्ने, तत्काल अस्पताल निर्माण गर्न नसकिने अवस्थासम्म कुनै अस्पताललाई तोकिनुपर्ने युनियनको माग छ । अध्यक्ष पोखरेलले प्रत्येक निजामती कर्मचारीको दुई सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययनको जिम्मा राज्यले लिनुपर्ने बताए । जसका कारण सरकारले कर्मचारीको तलब बृद्धि गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।