काठमाडौँ, १ कात्तिक- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सार्नेबारे कुनै सूचना नआएको र त्यस्तो विषय कतै प्रवाहसमेत नभएको प्रस्ट पारेको छ । सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना आयोगबाट पाएको भन्दै सत्ता नछाडेका माओवादी केन्द्रका मन्त्रीहरूको दाबीलाई आयोगले अस्वीकार गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंगलबार निर्वाचन सर्न सक्नेसम्बन्धी कुनै पनि सूचना आयोगले प्राप्त नगरेको बताए, कान्तिपुरमा खबर छ । ‘आयोगले सम्पूर्ण तयारी गरिरहेको छ,’ उनले भने, ‘चुनाव सर्ने कल्पनासमेत आयोगले गरेको छैन ।’ उनले निर्वाचन सामग्री व्यवस्थापन, मतपत्र छपाइजस्ता कामलाई तीव्रता दिइएको बताए ।
आयुक्त नरेन्द्र दाहाल पनि निर्वाचन सर्नेबारे कुनै छलफल वा परामर्श नभएकाले त्यस्तो सूचना आयोगबाट गएको विषयलाई अस्वीकार गर्छन् । ‘सरकारले औपचारिक वा अनौपचारिक कुनै प्रकारले चुनाव सार्ने विषयमा हामीसँग परामर्श गरेको छैन,’ उनले भने, ‘आयोग सम्पूर्ण रूपमा चुनावी तयारी जुटेको छ । तोकिएकै मितिमा चुनाव हुनेमा शंका नगरे हुन्छ ।’