काठमाडौं, १ कात्तिक - बर्दीको आडमा सजिलै पैसा कमाउन खोज्ने प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह यतिबेला अख्तियारको हिरासतमा छन् । आर्थिक लेनदेनको झूटो व्यहोरा देखाएर जबर्जस्ती पीडित खडा गरी एक पूर्वसैनिक हवल्दारबाट पाँच लाख घुस लिएको प्रमाणसहित उनीहरू पक्राउ परेका हुन् ।

धनकुटा घर भई हाल काठमाडौं टोखा बस्दै आएका नेपाली सेनाका अवकाशप्राप्त हवल्दार गंगा देवानलाई झूटो मुद्दा खडा गरेर १५ देखि २० लाख रुपैयाँ असुल्ने दाउमा थिए भाट र शाह । देवानकी पत्नी विनिताले आफूसँग घुस मागेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएपछि भाट र शाहको योजना चकनाचुर मात्रै भएन उनीहरू सेवाबाट बर्खास्तीको मुखमा पुगेका छन् ।
अख्तियारले भाट, शाह, बालुवा डिपो प्रमुख थापा र बालाजु वृत्तका प्रमुख नवीनकृष्ण भण्डारीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
घटनामा संलग्न महानगरीय प्रहरी प्रभाग फर्पिङमा कार्यरत प्रहरी हवल्दार मनोज यादव भने फरार छन् । अख्तियारको हिरासतमा रहेका थापाले आफ्नो डिपोमा भाटलगायत प्रहरीले लेनदेन गर्ने गरेको र देवानबाट पनि जबर्जस्ती पैसा मागेको बयान दिएका छन् । डीएसपी भण्डारीले भने देवान पक्राउ परेको जानकारी आफूलाई थाहा भए पनि पैसा मागेको विषयमा अनभिज्ञ रहेको बयान अख्तियारलाई दिएका छन् ।