
भारतको उत्तर प्रदेशको झाँसीको रेवाँ र ककवारा गाउँको बीच भागमा कुकुरको मन्दिर स्थापना गरिएको छ । ‘कुतिया रानी की मन्दिर’ भनी चिनिने यस मन्दिरमा हरेक दिन भक्तहरूको ताँती लाग्छ ।
कुतिया देवीप्रति मानिसमा अपार श्रद्धा छ । कुतिया देवीका बारेमा धेरै कथाहरू प्रचलित छन् । यस मनिदरका पुजारी किशोरीलाल यादव तीमध्येका एक कथा सुनाउँछन् । ‘कुतिया देवी रेवाँ र ककवाराको बीचमा बस्ने गर्थिन् । एक दिन दुवै गाउँमा भोज चल्यो ।

भोजमा भाग लिन कुतिया देवी रेवाँ पुगिन् तर त्यहाँ खाना पाकेकै थिएन । त्यसपछि उनी ककवारा गइन् । त्यहाँ पनि खाना पाकिसकेको थिएन । त्यसपछि कुतिया देवीले दुवै गाउँको बीचमा बस्ने निर्णय गरिन् । जुन गाउँमा पहिला खाना बन्छ, त्यहीँ जाने विचार उनले गरिन् ।
दुवै गाउँले एकैचोटि भोजन बनेको घोषणा गरे तर त्यतिखेरै कुतिया देवीको मृत्यु भयो ।’ स्थानीयवासी के विश्वास गर्छन् भने कुतिया देवीको मृत्यु भएको ठाउामा उनको समाधि छ । यहाँ नियमित रूपमा मानिस श्रद्धापूर्वक पूजा गर्न आउँछन् । पूजा गर्दा मनोकामना पूरा हुने उनीहरूको विश्वास छ ।