![डाँडामा लुकेको चुलिबोझा मगर होमस्टे [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/chulibojha_2_lTMcFnjWtb.jpg)
पूर्वी नवलपरासी (नवलपुर)को उत्तरी भेगमा पर्ने ग्रामिण पालिकामध्ये बुलिङ्टार गाउँपालिका पनि पर्छ । नेपालमा नै पर्यटकीय क्षेत्रमा चिनिएको महाभारत श्रृङ्खलाअन्तर्गत समुन्द्री सतहदेखि १९३६ मिटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित सुन्दर गाउँमा मगर जातिको बाहुल्यता छ । सुन्दर र शान्त गाउँमा घर बास (होमस्टे)को सञ्चालन २०७३ सालदेखि शुरू गरिएको हो ।

गाँउकै नाम र मगर समुदायलाई जोडेर 'चुलीबोझा मगर सामुदायिक होमस्टे 'नाम दिइएको छ । पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दुरीमा उत्तरतर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ ।
बुलिङटार गाउँपालिका-४ मा अवस्थित छ चुली बोझा सामुदायिक मगर होमस्टे । मगर होमस्टेमा मगर समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद लिन पाइन्छ । होमस्टेअन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू छन् । होमस्टेमा तीन बटा हल कोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ ।
जिल्लाभित्र र नजिकका छिमेकी जिल्लाबाट पनि आन्तरिक पर्यटकहरू बास बस्न र रमाइलो गर्न आउने गरेको गरेको होमस्टे सञ्चालक हेमलाल बरालले बताए ।
जिल्लाकै अग्लो डाँडा देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटक, तराईबाट गर्मी छल्न र होमस्टेमा बास बस्न आउने गरेका छन् ।

चुलीबोझामै उत्पादन भएको कोदो, मकै, फापरको ढिँडो, लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो , सुन्तला, केरा, तरुल, पिडालु, भट्ट, गहतलगायत गेडागुडीको परिकारको स्वाद लिन पनि बजारमा बसोबास गर्नेहरू होमस्टेमा आउने गर्छन् ।

मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न मगर समुदायमा चर्चित करुवा नाच, झाम्रे नाच प्रस्तुत गर्ने गरिन्छ ।







तस्वीर: नेपाल फोटो लाइब्रेरी/मनिष अर्याल