३० असार २०८३, मंगलबार

लुम्बिनीमा टिमुर सम्मेलन, ‘कालो सुन’लाई मोहरमा बदल्नुपर्नेमा जोड

जेठ १२, २०८१
बुटवल
लुम्बिनीमा टिमुर सम्मेलन, ‘कालो सुन’लाई मोहरमा बदल्नुपर्नेमा जोड

औषधीय गुण भएको टिमुरको व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारले शनिबार टिमुर सम्मेलन गरेको छ । वन तथा वातावारण मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा दाङको लमहीमा प्रदेशस्तरीय टिमुर सम्मेलन भएको हो । जहाँ टिमुरको व्यावसायिक खेती गर्नेदेखि निर्यात गरेर प्रदेशको आर्थिक विकास र समृद्धिको खाकाको बारेमा समेत चर्चा गरिएको छ । 

पहिलो पटक टिमुर सम्मेलन गरेर यसबारेमा खोजीनिति थालिएको हो । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा टिमुर खेती हुने गरेको छ । लुम्बिनी प्रदेशमा १० लाख हेक्टर वन क्षेत्र छ । जसमध्ये ५० हजार हेक्टरमा टिमुर खेती गर्न सकिने सम्भाव्यता रहेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले जानकारी दिए । उनका अनुसार एक हेक्टर जमिनमा ४०० विरुवा हुर्काउन सकिने, एउटा विरुवाबाट मात्रै तीन किलोग्रामसम्म टिमुर उत्पादन गर्न सकियो भने प्रतिवर्ष ६ करोड किलो टिमुर उत्पादन गर्न सकिने देखिएको छ । प्रशोधन नगरिएको टिमुर प्रतिकिलो ५०० देखि ८०० रुपैयाँ सहजै बिक्री हुने गरेको छ । 

टिमुरलाई कालो सुन भनेर पनि चिन्ने गरिन्छ । तर, यो कालो सुनलाई मोहरमा बदल्नेगरी प्रभावकारी योजना बनाउन नसक्दा आर्थिक उपार्जनमा योगदान पुग्न नसकिएको सरोकारवालाको भनाइ छ । वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले आर्थिक वर्ष २०७८-०७९ मा दुई लाख ९० हजार ५१९ किलो टिमुर निर्यात भएको विवरण सुनाए । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव नम्रता सिंहले टिमुरमा औषधीय गुण अधिक रहने जानकारी दिँदै उत्पादन बढाउन आवश्यकता महशुस गरिएको बताइन् । 

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले आउने नीति तथा कार्यक्रममा टिमुरको विषयलाई सकारले समावेश गर्ने विश्वास व्यक्त गरेका छन् । टिमुर सम्मेलनको उद्घाटन गर्दै उनले किसानलाई नयाँ भविष्य दिन टिमुर सम्मेलन सहयोगी हुने पनि बताए । ‘यो सम्मेलन कष्टकर जीवनबाट सहज बनाउने उद्देश्यले महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘वस्तु विनियमको जमानामा टिमुर बेचेर नुन बोकेर खान्थ्यौँ । कोइलाबासमा टिमुर लगेर नुन ल्याइन्थ्यो । यो विगत भइसक्यो । अब टिमुरबाट प्रदेशको समृद्धि खोजिरहेका छौं ।’ 

शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकालले प्रदेशलाई समृद्ध बनाउनका लागि टिमुरको मूल्य श्रृङ्खलामा आधारित उत्पादन, प्रशोधन र बजारीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिए । ‘हाम्रो प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने सम्भावनाको खोजीका क्रममा हामीले टिमुर सम्मेलन आयोजना गरेका छौँ,’ उनले भने, ‘आगामी दिनमा हाम्रो प्रदेशका उत्पादन हुन सक्ने कृषिजन्य उपजलाई अगाडि बढाउने सन्दर्भमा घनिभूत छलफल गर्न जरुरी छ । सबैले साझा प्रतिबद्धता व्यक्त गरेर टिमुरबाट आर्थिक विकासका लागि लागौँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्