
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको छानबिन किन अगाडि नबढेको भनेर प्रश्न गरेका छन् । उनले महान्यायाधिवक्ता कार्यालय रास्वपाको भातृ संस्थाजस्तो बनेको आरोप लगाए ।
सहकारी ठगीमा संसदीय छानबिन समिति गठनमा दबाब दिन आइतबार कांग्रेसले आयोजना गरेको विरोध सभालाई काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री शर्माले दोहोरो पासपोर्टमा लामिछानेमाथि किन छानबिन नहुने भनेर प्रश्न गरेका हुन् ।
‘बालुवाटारमा रेशमी पिँजडामा रहेका प्रधानमन्त्री प्रचण्डलाई पनि प्रश्न छ । महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता छैन भन्यो । गृहमन्त्रीका दुई वटा पासपोर्टमा छानबिन गर्नुपर्दैन भन्यो’, महामन्त्री शर्माले सोधे, ‘के महान्यायाधिवक्ता कार्यालय रास्वपाको भातृ संगठन हो ? सहकारी ठगीमा दोषी हुनुहुन्न भने र पासपोर्ट दुई वटा भए पनि मुद्दा चलाउनु पर्दैन भन्ने ?’
महामन्त्री शर्माले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध स्वरूप गिरफ्तार गरिएको भन्दै शर्माले सोधे– ‘गृहमन्त्रीको पासपोर्टको मुद्दा किन अगाडि बढेको छैन ? यही हो रास्वपाले परिकल्पना गरेको वैकल्पिक राजनीति ?’
महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले २ महिनादेखि गृहमन्त्री लामिछानेलाई जोगाउन लागिपरेको आरोप लगाए ।