०९ साउन २०८३, शनिबार
सहकारी ठगी प्रकरण

छानबिन समितिको सकस : सत्तापक्षलाई मध्यमार्गी प्रस्ताव राखेर फर्कियो कांग्रेस

जेठ १४, २०८१
काठमाडौं
छानबिन समितिको सकस : सत्तापक्षलाई मध्यमार्गी प्रस्ताव राखेर फर्कियो कांग्रेस

भोलि बजेट प्रस्तुत गर्नु अघि सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने प्रयासस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा कांग्रेस आफ्नो मध्यमार्गी प्रस्ताव राखेर फर्किएको छ ।

प्रधानमन्त्री प्रचण्डको आह्वानमा कांग्रेस, एमाले, माओवादी, रास्वपाका शीर्ष नेताको बैठकमा कांग्रेस आफ्नो मध्यमार्गी प्रस्ताव प्रधानमन्त्रीलाई बुझाएर फर्किएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

‘सहकारी प्रकरणका विषयमा कांग्रेसले छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । यस्तोमा गृहमन्त्री रवि लामिछानेको नाम नै उल्लेख गरेर जाँदा हुन्छ भन्ने हाम्रो माग हो । यसले रविजीलाई पनि फरक नपर्नुपर्ने हो कि उहाँ आफैंले जस्तो समिति बनाए पनि हुन्छ भन्दै आउनुभएको छ', परियारले भने, ‘तर नाम राखेर जान सकिँदैन भन्ने सत्ता पक्षको दलको कुरा छ । हामीले भनेको पनि नहुने उहाँहरूको पनि हामी नमान्ने भएपछि मिलाउनुपर्ने दायित्व भएको सत्ता पक्षले आज साँझसम्म मिल्ने प्रस्ताव ल्याइयोस् भन्ने कुरा राखेर हामी फर्किएका छौं ।’

लामिछानेको नाम नै उल्लेख नगर्ने सत्ता पक्षको अडान भइरहेका बेला बीचको प्रस्ताव ल्याए पनि सत्तापक्षले नमानेको उनी बताउँछन् । 

‘हामीले भनेको कुरामा उहाँहरू नमान्ने, उहाँहरूले भनेको हामी नमान्ने अवस्था छ । यस्तोमा गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारी संस्थाबाट गैरकानुनी रुपमा कुन पैसा ल्याएर विभिन्न व्यक्तिबाट अपचलन भएको विषयमा छानबिन गरौं भन्ने हाम्रो प्रस्ताव छ', परियारले भने, ‘हामी झन् लचक भएका छौं तर अब विपक्षीले उठाएको मागमा सत्तापक्ष लचिलो हुनुपर्छ । किनकि यो कुनै एक व्यक्तिको कुरा होइन । सहकारीमा ठगिएका लाखौं बचतकर्तासँग जोडिएको कुरा हो ।’

बिहान साढे दुई घण्टासम्म चलेको छलफलमा कुनै सहमति नभएपछि आजै साँझ पुनः प्रधानमन्त्रीसँग कांग्रेसले छलफल गर्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्