२१ जेठ २०८३, बिहीबार

अर्थ मन्त्रालयले अढाई खर्ब बढीको स्रोत लुकायो, वित्तीय विवरणमा समेत उल्लेख गरिएन

जेठ १४, २०८१
काठमाडौं
अर्थ मन्त्रालयले अढाई खर्ब बढीको स्रोत लुकायो, वित्तीय विवरणमा समेत उल्लेख गरिएन

अर्थ मन्त्रालयले आफ्नो वित्तीय विवरणमा अढाई खर्ब बराबरको स्रोत नखुलाएको पाइएको छ ।

आइतबार सार्वजनिक भएको ६१औं महालेखा परीक्षक प्रतिवेदनमा १३ खर्ब १ अर्ब ७३ करोड बजेट खर्च हुने संशोधित अनुमान रहेकोमा वित्तीय विवरणमा अन्तिम बजेट १५ खर्ब ४४ अर्ब ३४ करोड देखाएको र बाँकीको स्रोत देखाउन नसकेको उल्लेख गरिएको छ ।

'रू १३ खर्ब १ अर्ब ७३ करोड ७७ लाख बजेट खर्च हुने संशोधित अनुमान रहेकोमा वित्तीय विवरणमा अन्तिम बजेट रू.१५ खर्ब ४४ अर्ब ३४ करोड २१ लाख देखाएकोले रू.२ खर्ब ४२ अर्ब ६० करोड ४४ लाख बढीको स्रोत खुलाएको छैन', प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनले खर्चको स्रोतलाई वित्तीय विवरणमा खुलासा गर्न र यथार्थ स्रोतको अनुमान गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।

त्यस्तै महालेखा परीक्षक प्रतिवेदनले बजेटको तुलनात्मक विवरण तयार गर्दा शुरू र अन्तिम बजेटबीच परिवर्तन भएमा कारणसहित खुलासा गर्नुपर्नेमा नगरेको समेत आरोप लगाएको छ । 

'बजेट वक्तव्यमा कर राजस्व रू.१२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख र अन्य राजस्व रू.१ खर्ब ७ अर्ब ७७ करोड १२ लाख प्राप्त हुने अनुमान गरेकोमा बजेटको तुलनात्मक विवरणमा कर राजस्वको शुरू अनुमान रू.४ अर्ब ३४ करोड ४२ लाख बढी देखाई सोही रकम बराबर अन्य राजस्वमा घटी देखिएको छ', प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै अर्थ मन्त्रालयले अरू थप २ अर्ब ८३ करोडको हिसाब समायोजन गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षसम्म संचित कोषको मौज्दात १ खर्ब २४ अर्ब ७६ करोड रहेकोमा यो अहिले संघीय, प्रदेश र स्थानीय तहको एकीकृत संचित कोषको विवरणमा १ खर्ब २७ अर्ब ६० करोड देखिएको प्रतिवेदनले जनाएको छ ।

'२ अर्ब, ८३ करोड ९७ लाखको हिसाब समायोजन गर्नुपर्छ', प्रतिवेदनले सुझाव दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्