
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । सत्रौँ गणतन्त्र दिवसका अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै उनले गणतान्त्रिक व्यवस्थालाई थप समृद्ध बनाउँदै जनआकाङ्क्षालाई पूरा गर्नेतर्फ सबै अग्रसर हुन जरुरी भएको उल्लेख गरे ।
उनले भने, “नेपालको संविधानले नेपालको सार्वभौम राजकीय सत्ता नेपाली जनतामा रहने र नेपाललाई स्वतन्त्र गणतन्त्रात्मक राज्य घोषित गरेको छ । अहिलेको संविधानको सबैभन्दा मौलिक पक्ष भनेको नै यही हो भन्ने मलाई लाग्छ । गणतान्त्रिक व्यवस्थालाई समृद्ध बनाउँदै जनताको अपेक्षा र आकाङ्क्षालाई पूरा गर्दै, निराशालाई आशामा परिणत गर्न सके मात्रै दिवसको सान्दर्भिकता रहन्छ ।”
उनले संविधानको भावनाअनुरुप सबै प्रकारका विधयेकको अन्त्य, आर्थिक समानता र समृद्धि, सामाजिक न्याय, स्वतन्त्रता, सुशासन र पारदर्शितालाई महत्वपूर्ण कुरा हुन् भन्दै सोही बमोजिम मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको गन्तव्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी भएको खाँचो औँल्याए । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले जनताको समस्या उठाउने जनप्रतिनिधिहरुको थलो संसद् आशातीत रुपमा प्रभावकारी हुन नसकिरहेको भन्दै थाती कानून निर्माण र जनताका अत्यावश्यक विषयलाई केन्द्रमा राखेर अगाडि बढनुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता कृपाशुर शेर्पाले गणतान्त्रिक व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले जनताको त्याग र बलिदानबाट प्राप्त गणतन्त्रलाई व्यावहारिक रुपमा जनआकाङ्क्षाअनुरुप पूरा गर्न राजनीतिक दल र सरोकारवाला गम्भीर हुनुपर्ने बताए ।
सो अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने प्रतिष्ठित व्यक्तित्वहरु पत्रकार, कलाकार, शिक्षाकर्मी, स्वास्थ्ययकर्मीलगायतलाई ‘राष्ट्रिय सेवा सम्मान’ द्वारा सम्मान गरिएको थियो ।