०५ साउन २०८३, मंगलबार
एमालेको जिल्ला अधिवेशन

लुम्बिनीमा एमाले जिल्ला अधिवेशनः पौडेल-पोखरेल प्रतिस्पर्धा, कहाँ कसले मार्‍यो बाजी ?

जेठ १५, २०८१
बुटवल
लुम्बिनीमा एमाले जिल्ला अधिवेशनः पौडेल-पोखरेल प्रतिस्पर्धा, कहाँ कसले मार्‍यो बाजी ?

अध्यक्ष केपी शर्मा ओलीपछिको नेतृत्व को हो भन्ने विषयमा नेकपा एमालेभित्र मात्र होइन, बाहिर पनि चासो छ । अहिले पार्टीको जिल्ला अधिवेशन चलिरहँदा त्यस्तो चासो र चर्चा झनै बढेको छ । 

यसखाले बहसको शुरूआत गत वर्ष भदौमा बुटवलमा आयोजित लुम्बिनी प्रदेशको पहिलो अधिवेशनबाट भएको थियो । महासचिव भइसकेका पार्टी उपाध्यक्ष विष्णु पौडेल र वर्तमान महासचिव शंकर पोखरेलले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएको लुम्बिनीको अधिवेशनबाट शुरू भएको मतदानमार्फत नेतृत्व चयन गर्ने अभ्यासले अहिले जारी जिल्ला अधिवेशनमा पनि निरन्तरता पाएको छ ।

अहिले मतदानबाट नेतृत्व चयन गर्ने प्रक्रियालाई पार्टी अध्यक्ष ओलीले पनि मौन स्वीकृति दिएको देखिन्छ । एमालेवृत्तमा भावी नेतृत्वको रूपमा हेरिएका पौडेल र पोखरेलले आफूनिकट नेतालाई जिल्लाको नेतृत्वमा ल्याउन प्रतिस्पर्धा गरिरहेको नेताहरू बताउँछन् ।

ओलीले आफू अझै २० वर्ष पार्टीमा सक्रिय रहने बताइसकेका छन् । तर, बाहिर नदेखिए पनि अहिले  लुम्बिनी प्रदेशका जिल्ला अधिवेशनहरूमा गुटगत प्रतिस्पर्धा भएको छ ।

लुम्बिनीका अहिलेसम्म सकिएका अधिवेशनमा उपाध्यक्ष पौडेल आफू उपस्थित भएका छैनन् । महासचिव पोखरेलले भने धेरैजसो अधिवेशन आफैंले उद्घाटन गरेका छन् ।

पौडेलको टीमबाट पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल (आरके), पोलिटब्यूरो सदस्य तथा लुम्बिनीका पूर्व मुख्यमन्त्री लीला गिरी र पार्टीका प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ पुग्ने गरेका छन् ।

पार्टी प्रदेश कमिटीको अधिवेशनबाट शुरूआत भएको लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीमा नयाँ जीवन र तरंग सिर्जना गरेको कार्यकर्ताहरू बताउँछन् ।

कुन जिल्लामा कुन पक्षका नेताले जिते ? 

बर्दियामा तेस्रो कार्यकालका लागि अध्यक्ष लालबहादुर श्रेष्ठलाई महासचिव पोखरेलले अघि सारे । तर, नतिजा उनका प्रतिस्पर्धी शालिकराम अधिकारीको पक्षमा आयो । उपाध्यक्ष पौडेलनिकट अधिकारीको प्यानल नै विजयी भयो ।

कपिलवस्तुमा पनि बहालवाला अध्यक्ष डम्बर शर्मालाई पराजित गर्दै बाबुराम खनाल निर्वाचित भए । शर्मा महासचिव पोखरेल र खनाल उपाध्यक्ष पौडेल निकट मानिन्छन् । 

एमाले बाँकेको अधिवेशनमा महासचिव पोखरेल पक्षले डिल्ली बीसीलाई अघि सार्‍यो भने पौडेल पक्षले निरक गुरुङलाई अघि सार्‍यो । अधिवेशनले गुरुङको टीमलाई नै निर्वाचित गर्‍यो । 

गत साता भएको एमाले दाङको अधिवेशनमा नेतृत्वका लागि वर्तमान अध्यक्ष हुकुम बस्नेत र उपाध्यक्ष मनोहर बुढाथोकी प्रतिस्पर्धामा थिए । बस्नेत पोखरेल र बुढाथोकी पौडेल पक्षबाट आकांक्षी थिए । 

बस्नेत पराजित हुने अवस्था देखिएपछि महासचिव पोखरेलले आफ्नो बैनीज्वाइँ शिवकुमार आचार्यलाई अध्यक्ष बनाएको दाङका एमाले नेता/कार्यकर्ता बताउँछन् । उनी प्रतिनिधिसभा सदस्य मेनका पोखरेलका श्रीमान हुन् । 

आफ्नो गृहजिल्लामा ज्वाइँलाई अध्यक्ष बनाएको भन्दै पार्टी पंक्तिमा असन्तुष्टि देखिएको छ ।

पश्चिम नवलपरासीको अधिवेशनले पनि सर्वसम्मत नेतृत्व चयन गरेको छ । दीपेन्द्र अधिकारी दोहोरिएर अध्यक्ष बनेका छन् । उनी महासचिव पोखरेलनिकट मानिन्छन् ।

यस्तै, शनिबार सम्पन्न एमाले पाल्पाको अधिवेशनले ओमबहादुर घर्तीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । घर्ती पौडेलनिकट मानिन्छन् ।

तिनाउ गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका घर्ती सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । त्यस्तै, एमाले रोल्पाको अध्यक्षमा घनश्याम आचार्यलाई पराजित गर्दै अमृतबहादुर बुढामगर विजयी भए ।

बुढामगर पनि पौडेल निकट मानिन्छ । त्यस्तै एमाले रुकुमपूर्वको अध्यक्ष लीलामणि गौतम सर्वसम्मत रूपमा चयन भए । उनी महासचिव पोखरेलनिकट रहेको बताइन्छ ।  

बाँकी जिल्लामा कस्तो कसरी नेतृत्व चयन होला !

लुम्बिनीमा ४ जिल्लाको अधिवेशन बाँकी छ । पार्टीको केन्द्रीय तालिका अनुसार जेठ मसान्तभित्र सक्ने गरी ४ वटै जिल्ला कमिटी अधिवेशनको तयारीमा जुटेका छन् ।

रुपन्देहीमा यसअघि निर्धारण गरिएको अधिवेशन मिति सारेर जेठ २३ र २४ गते गर्ने तयारी छ । प्युठानमा जेठ २१ र २२ गते, अर्घाखाँचीमा जेठ २६ र २७ गते तथा गुल्मीमा २९ र ३० गते अधिवेशन गर्ने तयारी भइरहेको छ । 

रुपन्देहीमा हालका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे र उपसचिव चित्रबहादुर कार्कीले अध्यक्षमा दाबी गर्दै आएका छन् ।  

एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले सहमतिको प्रयास गरिएको र सम्भावना नभएका जिल्लामा निर्वाचनबाट नेतृत्व चयन भएको बताए ।

श्रेष्ठले भने, ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन भएका छन् । सहमति नभएका जिल्लामा स्वच्छ मतदानबाट नेतृत्व चयन भइरहेका छन् । यो राम्रो पक्ष हो ।’ 

गुल्मीमा अध्यक्ष बालसिंह काउछा र प्रदेश कमिटी सदस्य हिरा एसी प्रतिस्पर्धाका लागि तयारीमा जुटेका छन् ।

काउछा पोखरेल र एसी पौडेल लाइनका नेता हुन् । गुल्मी पार्टीका दुई प्रभावशाली नेताद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला पनि भएकाले नेतृत्व चयन पनि पेचिलो छ । 

प्युठानमा अध्यक्षका लागि हालका अध्यक्ष विजयविराट विष्टबाहेक अन्यको अहिलेसम्म चर्चा छैन । दुवैको साझा हुन खोज्ने विष्टको पक्षमा सहमति हुन सक्ने नेताहरू बताउँछन् ।

अर्घाखाँचीमा हालका अध्यक्ष पीताम्बर भुसाल दोहोरिने प्रयासमा छन् । उनी पोखरेलनिकट मानिन्छन् । 

पौडेल र शंकर को कस्ता  ?

तत्कालीन नेकपा बन्दा विष्णु पौडेल महासचिव बनेपछि दोस्रो पुस्ताबाट उत्तराधिकारी चयन भएको भनेर चर्चा भयो ।

पौडेल महासचिव भएपछि पार्टीका नेताहरू ईश्वर पोखरेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डेलगायत छायाँमा परे । नेकपा विभाजनपछि पौडेलको महासचिव पद गयो ।

एमाले ब्यूँतिएपछि फेरि ईश्वर पोखरेल महासचिव बने । पछि पार्टी महाधिवेशनबाट शंकर पोखरेलले महासचिवको जिम्मेवारी पाए ।

आमनिर्वाचन वि.स.२०७९ मा पौडेल रूपन्देही–२ बाट निर्वाचित भए भने पोखरेल दाङ २ बाट पराजित भए । तत्कालीन समयमा माओवादीको आलोचना गर्ने पोखरेल माओवादीकी महिला नेत्री रेखा शर्मासँग पराजित भएका हुन् । अन्तरमुखी स्वभावका पोखरेल पार्टीभित्र बौद्धिक नेताका रूपमा भने चिनिन्छन् । तर, उनी कार्यकर्ता पंक्तिमा खासै घुलमिल हुँदैनन् । वि.सं. २०५१ को मध्यावधि निर्वाचन र वि.सं. २०७४ को लुम्बिनी प्रदेशसभा चुनावबाहेक पोखरेलले अन्य चुनाव जितेका छैनन् ।

अर्कातर्फ, सामान्य कार्यकर्तासँग समेत घुलमिल हुन सक्ने पौडेलको पार्टी संगठनमा बलियो पकड रहेको बताइन्छ । पौडेलले वि.सं.२०५६ बाहेक २०५१ यताका सबै चुनाव जित्दै आएका छन् । पोखरेलको गृहजिल्ला दाङमा एमालेको राजनीतिक आधार कमजोर देखिन्छ भने पौडेलको गृहजिल्ला रुपन्देहीमा एमाले बलियो छ । आम निर्वाचन २०७९ मा दाङमा एमाले शून्य भयो भने रूपन्देहीमा गठबन्धनविरुद्ध प्रतिस्पर्धा गरेर पनि दुईवटा क्षेत्र जित्यो ।

पार्टीमा एकअर्काबीच आन्तरिक प्रतिस्पर्धा भए पनि दुवै नेता अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।

‘बाहिर चर्चा गरिएजस्तो गुटगत प्रतिस्पर्धा होइन’

पार्टीका जिल्ला कमिटी निर्वाचनहरूमा गुटगत प्रतिस्पर्धा भए पनि नेताहरूले त्यसलाई सहज रूपमा स्वीकार गरेको पाइँदैन । नेकपा एमाले प्रदेश कमिटी सदस्य डीआर घिमिरेले बाहिर सुनिएजस्तो जिल्ला अधिवेशन गुटगत प्रतिस्पर्धाका आधारमा नभएको बताए ।

‘पार्टीमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो,’ घिमिरे भन्छन्, ‘रियालिटीमा नेतानिकट भएर प्रतिस्पर्धा भएको लाग्दैन । त्यो भनेको आफैंले आफैंलाई रंग्याउनु हो । अधिवेशन हुन बाँकी रुपन्देही, गुल्मीलगायतका जिल्लामा सर्वसम्मत नेतृत्व चयन होलाजस्तो लाग्छ ।’

एमाले नेता तथा प्रशिक्षक विकिरण गौतमले नेताहरूले नचाहँदा पनि कार्यकर्ताले मनोविज्ञान बनाएर भाष्य सिर्जना गरिरहेको बताउँछन् । ‘कार्यकर्ताले नेतालाई गुटमा देखाइदिने प्रवृत्ति देखिएको छ,’ गौतम भन्छन्, ‘अधिवेशनहरू कार्यकर्ताको रोजाइअनुसार भएका छन् । सारमा पौडेल र पोखरेल समूहबीच गुट नै बनाएर अधिवेशन भएका छैन जस्तो मलाई लाग्छ ।’

salt training

कमेन्ट गर्नुहोस्