०६ साउन २०८३, बुधबार

बजेटमा रुपन्देहीः के–के योजना समेटिए ?

जेठ १५, २०८१
बुटवल
बजेटमा रुपन्देहीः के–के योजना समेटिए ?

अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा रुपन्देहीमा विभिन्न योजना अघि सारिएका छन् । बजेटमा रुपन्देहीका लागि अधिकांश चालु आयोजनालाई निरन्तरा दिइएको छ भने केही नयाँ आयोजनासमेत प्रस्ताव गरिएको छ । 

अर्थमन्त्री पुनले बजेट मन्तव्यमार्फत् बुद्ध जन्मस्थल लुम्बिनीलाई ‘बर्थिङ हब’को रुपमा प्रवद्र्धन गरिने जनाएका छन् । लुम्बिनीमा ठूलो क्षमताको बर्थिङ सेन्टर स्थापना गरिने चर्चा चलिरहँदा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा यो विषयलाई सम्बोधन गरेका हुन् । 

लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनीलाई बर्थिङ हब बनाइँदा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

यसका लागि सरकारले आवश्यक प्रक्रिया आगामी आर्थिक वर्षको प्रारम्भबाटैं अघि बढाउनुपर्ने बताउँदै यस कार्यमा आफूले आवश्यक समन्वय गर्ने उल्लेख गरे ।  । ‘बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हब बनाउने विषयमा हाम्रो निरन्तर पहल थियो । अहिले बजेटमा आएको छ । यसको सार्थक कार्यान्वयनमा सबैको सहयोग अपरिहार्य छ,’ उनले भने । 

बजेटमा प्रमुख धार्मिक एवं पर्यटकीय स्थल लुम्बिनी र लुम्बिनी करिडोरमा रहेका नगरपालिकामा एकीकृत शहरी पूर्वाधार विकास गरिने उल्लेख छ । यस्तै बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षा लगायतका पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालनको काम अघि बढाइने पनि बजेटमा जनाइएको छ । 

न्यू बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरिने, भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने,  निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता बजेटमा गरिएको छ भने बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने जनाइएको छ । 

पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रुपमा विकास गरिने, मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य शुरू गरिने पनि बजेटमा उल्लेख छ । भैरहवाको एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न गरिने, बुटवल मेडिकल कलेज स्थापना कार्य अघि बढाइने, बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति कार्य शुरू गरिने पनि बजेटमा जनाइएको छ । 

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तोरन्नति गरिने, तिनाऊ नदीमा सिग्नेचर ब्रिज निर्माण कार्य अघि बढाइने, सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ निर्माण कार्य सम्पन्न गरिने पनि बजेटमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्