
जग्गासम्बन्धी विवादमा दाजुको हत्या गरेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँका ६७ वर्षीय सिंहबहादुर तामाङ छन् ।
७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइको संलग्नता रहेको पाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार उनले सोमबार साँझ धारिलो हतियार (खुकुरी) प्रहार गरेका थिए ।
खमसिंहको मृत्यु जग्गासम्बन्धी विवादमा उनकै भाइबाट भएको पाइएकाले सिंहबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
उनका अनुसार जग्गासम्बन्धी लामो समयदेखि कायम विवाद, घटनास्थलको प्रारम्भिक प्रतिवेदन र घटनाका सम्बन्धमा अभियुक्तबाट स्वीकार गरेको बयानका आधारमा दाजुको हत्या अभियोगमा भाइलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको हो ।
उनी यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भएर कैद भुक्तानपश्चात् छुटेका व्यक्ति भएकाले पटके भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिंहबहादुरलाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्नलाई अनुमति लिन आज जिल्ला अदालतमा उपस्थित गराउने नुवाकोट प्रहरीले जनाएको छ ।