२३ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

दुर्घटनामा ७ जनाको मृत्यु, सन्दीपको भिसाका लागि सडकमा समर्थक

जेठ १७, २०८१
काठमाडौं
दुर्घटनामा ७ जनाको मृत्यु, सन्दीपको भिसाका लागि सडकमा समर्थक

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
छुट्टाछुट्टै दुई दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । सुर्खेतमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयले सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको जनाएको छ ।
यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबार भएको कार दुर्घटनामा तीनजनाको मृत्यु र दुईजना घाइते भएका छन् । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो ।
००००
काभ्रेपलाञ्चोकको साँगामा रोकिरहेको ट्यांकरमा ६ वटा सवारीसाधन ठोक्किएका छन् ।
बुधबार साँझ सडकको छेउमा रोकिरहेको ट्यांकरमा मोटरसाइकल, स्कुटर, दुई वटा कार, टाटाको योद्धा र ट्रक ठोकिएको हो । 
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठका अनुसार मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । 
००००
नेपाली सेनाको अगुवाइमा यसपटक सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले बुधबारसम्म ४ मानव शव, केही अस्थिपञ्जर र ११ टन फोहर संकलन गरेको छ । 
नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार बुधबारमात्रै दुई वटा शव निकालेर काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ ।  
००००
नेपाल प्रहरीका तीन जना डीआईजीको सरुवा भएको छ । यस्तै ४ जनाको पदस्थापन भएको छ भने २० जना एसएसपीको पनि सरुवा भएको छ । 
००००
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउने आदेश गरेको छ । 
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको आजको इजलासले पौडेल थुनामा पठाउने आदेश गरेको हो ।
००००
गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रजिअसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारीको बुधबार एकैपटक सरुवा भएको हो ।
००००
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा बुधबार ललितपुर प्रहरीले सिरोहियालाई रिहा गरेको हो ।
००००
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् ।
दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै धर्नामा बसेका हुन् । 
००००
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । 
उनले बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन् ।
यस्तै मुख्यमन्त्री पाण्डेकै दल नेपाली कांग्रेसबाट टकराज गुरुङ र विन्दुकुमार थापाले मन्त्री पदमा शपथ लिएका छन् ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी तीन दल र सत्तापक्षको एक दलका शीर्ष नेतासँग छलफल गरेको छ । 
मधेश सरकार, समसामयिक राजनीतिक विषयसहितका छलफलका लागि देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका हुन् ।
००००
पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् ।
पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् ।
सिन्धुपाल्चोकको चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
००००
मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन शुरू गरिएको छ ।
बुधबारदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे कारबाहीमा परेका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्