
मादक पदार्थ सेवन गरेर सवारी चलाएबापत कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवक बनाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति संसद्को राज्य व्यवस्था समितिले चासो देखाएको छ ।
गृहमन्त्रीले हचुवाका भरमा गैरकानूनी निर्णय गरेको भन्दै सांसदहरूले चासो दिएका हुन् ।
व्यक्तिको गोपनीयतालाई ख्याल नगरी गरिएको निर्णय गलत भएको र यसबारे गृहमन्त्रीलाई समितिमा बोलाउने तयारी रहेको सभापति रामहरि खतिवडाले जानकारी दिए ।
बिहीबार बैठकस्थलबाट बाहिरिने क्रममा सभापति खतिवडाले कसैको सनकका भरमा नागरिकलाई सडकमा उभ्याउन नपाइने बताए ।
गृहमन्त्रीलाई समितिमा बोलाउनका लागि शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको छ ।
बिहीबारको बैठकका सभापति खतिवडाले नै यो विषय समितिमा प्रवेश गराएका थिए । गृहमन्त्रालयको विषय संसद्को राज्य व्यवस्था समितिले हेर्ने गर्दछ । समितिमा कांग्रेस सांसद सरिता प्रसाईंले पनि यो विषयमा सरकारसँग छलफल गर्नुपर्ने बताएकी थिइन् ।
गृहमन्त्रीको आदेशको भरमा ट्राफिक प्रहरीले मापसे कारबाहीमा परेका व्यक्तिलाई पहेँलो ज्याकेटसहित सडकमा उतारेको छ । कानूनमा नभएको विषयमा गृहमन्त्रीले निर्देशन दिएको भन्दै चौतर्फी विरोध भएको छ ।
यो विषयमा छलफल गर्न समितिमा उपस्थित हुन गृहमन्त्रीले अनिच्छा देखाएको समिति स्रोतले बतायो ।
‘यसअघि समितिको शोभा बढाउन भन्दै गृहमन्त्री समितिमा आउनु भएको थियो । तर, समितिले बोलाउँदा आउन आनाकानी गर्नुभएको छ,’ समिति सचिवालय स्रोतले भन्यो ।
गृहमन्त्री राज्य व्यवस्था समितिको पदेन सदस्य रहने व्यवस्था छ । मन्त्री हुनुअघि रवि लामिछाने राज्य व्यवस्था समितिकै सदस्य थिए ।